काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्।
उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन्।

राईले भनिन्‚ ‘यति वेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् र संविधान उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहँदै छन्। आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्। आज हामीले संविधानबाट प्राप्त गरेका अधिकार दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ।, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ। हरेक ठाउँमा अनावश्यक नारा गुञ्जिरहेको छ।’
उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरिन्।