बनियानी । झापाका दुग्ध उत्पादन किसान पलायन हुने क्रम बढेको छ । दूधको उचित मूल्य नपाएपछि यहाँका दुग्ध उत्पादक किसान पलायन हुनेक्रम बढेको पशुपालन तथा दुग्ध उत्पादन सङ्घ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले जानकारी दिए । झापामा तीन वर्षअघि एक सय २० वटा व्यावसायिक गाईभैँसी फर्म रहेकोमा हाल उक्त सङ्ख्या ४० को हाराहारीमा पुगेको उनले बताए ।
सरकारले निर्धारण गरेको कच्चा दूधको न्यूनतम् मूल्यसमेत यहाँका किसानले विगत १४ महिनादेखि पाएका छैनन् । ‘पशु आहारको मूल्य बढेको बढ्यै छ, बैंक ब्याज पनि बढेको छ’, अध्यक्ष सिटौलाले भने, ‘त्यसमाथि सरकारले तोकेको दूधको मूल्य पनि पाएका छैनौंँ ।’ मेचीनगरका व्यावसायिक दूध उत्पादक किसान बद्री निरौलाले मेचीनगरको बाहुनडाँगीमा केही समय पहिले करिब २२ वटा गाई फार्म रहेकामा हाल चार÷पाँचवटा सीमित भएको बताए । किसानले दूध उत्पादन गरे पनि मूल्य नपाउँदा व्यवसायप्रति निराशा बढेको उनी बताउँछन् ।

मन्त्रिपरिषद्को २०७९ फागुन १९ गतेको निर्णयअनुसार कच्चा दूधको न्यूनतम खरिद मूल्य (सरकारी मापदण्ड अनुसार चार युनिट फ्याट र आठ युनिट एसएनफ) प्रतिलिटर रू ६५ मा चिलिङ, ढुवानीलगायत अन्य खर्चका लागि थप गरी प्रतिलिटर रू ७५ कायम भएको पशुपालन तथा दुग्ध उत्पादन सङ्घ झापाका अध्यक्ष सिटौलाले बताए ।
सरकारले तोकेअनुसार दूध खरिद–बिक्री हुँदै आए पनि २०८० कात्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग सङ्घ र नेपाल डेरी एशोसिएशनमा आबद्ध मुख्य डेरी उद्योगका सञ्चालकले २०८० मङ्सिर १ गतेदेखि लागू हुनेगरी प्रतिलिटर रू आठ घटाएको उनले जानकारी दिए । ‘सरकारले निर्धारण गरेको मूल्यमा आफूखुसी निर्णय गरेर डेरी उद्योगीहरूले किसानमाथि अन्याय गरेका छन्’, उनले भने, ‘सरकारको निर्णय बर्खिलाप गर्ने अधिकार कसैलाई छैन, सरकारले तोकेको मूल्य घटाउने अधिकार डेरी व्यवसायीलाई कसले दियो ?’ डेरीले हाल किसानलाई प्रतिलिटर दूध रू ६१र६२ दिने गरेको उहाँको भनाइ छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०८० मङ्सिर ७ गतेको चलानी नं ११४ को पत्र, डेरी उद्योग सङ्घ नेपालको २०८० मङ्सिर ७ गतेको पत्र र केन्द्रीय दुग्ध सहकारी सङ्घले नेपालको २०८० कात्तिक २४ गतेको पत्रबाटसमेत दूधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्रचार गर्दासमेत कोशी प्रदेश डेरी उद्योग सङ्घले बेवास्ता गरेर आफूखुसी मूल्य निर्धारण गरेको सङ्घका मुख्य सल्लाहकार सुदीप गौतमले बताए ।
सल्लाहकार गौतमले भने, ‘मन्त्रिपरिषद्को निर्णय र दुग्ध विकास बोर्डको अनुरोधलाई समेत बेवास्ता गरेर डेरी व्यवसायीले मनोमानी गरिरहेका छन् ।’आफूखुसी दूधको मूल्य घटाउँदा दूध उत्पादन गर्ने किसानको उठिबास हुने अवस्था सिर्जना भएको सङ्घका उपाध्यक्ष दिनेश थापाले बताए । कोशी प्रदेशमा दैनिक एक लाख ५० हजार लिटर दूध उत्पादन हुने र डेरी उद्योग सङ्घले मूल्य घटाउँदा दैनिक रू १२ लाख किसानलाई घाटा भइरहेको उनले बताए ।
‘आफूले उत्पादन गरेको दूधको उचित मूल्य किसानले पाएका छैनन्, बैंक ब्याज र पशु आहारको मूल्य पनि बढेको छ’, उनले भने, ‘चौतर्फी घाटाले दूध उत्पादक किसान पेसा छोडेर पलायन हुने क्रम बढेको छ ।’ कोशी प्रदेशमा मात्रै दूध उत्पादक किसानले गरेको रू सात अर्ब लगानी सङ्कटमा परेको सङ्घले जनाएको छ । डेरी व्यवसायीले किसानले आफूले चाहेको ठाउँमा दूध बेच्न नपाउने गरी सिण्डिकेटसमेत चलाएको सङ्घको आरोप छ ।
कोशी प्रदेश डेरी उद्योग सङ्घले किसानको ठूलो लगानीमा क्षति पुर्याएको, किसानको दैनिक आयमा ह्रास ल्याएर पेसाबाट विस्थापित हुने स्थतिमा पुर्याएकाले कोशी प्रदेश सरकार कृषि मन्त्रालय तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराइएको सङ्घका उपाध्यक्ष दिनेश थापाले बताए ।
आफूखुसी मूल्य घटाउँदा हालसम्म दूध उत्पादक किसानको रू ५० करोड ४० लाख क्षति भएकाले उक्त क्षतिपूर्ति सङ्घलाई भराएर छाड्ने, नदिए न्यायको ढोका ढक्ढक्याउने सङ्घले जनाएको छ । आफ्ना समस्याको विषयमा सरोकारवाला निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले जनाएको छ ।