डोटी । दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।

कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गरेका छन् । किसान शाहीले यसपटक दुई सय पोका च्याउ राखेका छन् । उनले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताएका छन् । उनले भने, ‘प्रतिकिलो रु ५० का दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ । च्याउ उत्पादन सुरु हुञ्जेलसम्म रु दुई लाख लागत लागेको छ ।’

OM Sai Pathibhara Hospital

उनका अनुसार गोब्रे च्याउखेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने गरेको छ । कृषि जेटिएको पढाइ गरेका उनले गोब्रे च्याउखेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउखेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताऐ । उनका अनुसार पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नुपर्छ । उनले भने, ‘आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु ।’ गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो रु चार सय छ ।

गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउखेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उनले बताए ।

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकारका बन्ने गर्छन् । अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा खपत हुने निमित्त प्रमुख अवस्थीको विश्वास छ । यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउखेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उनले बताए ।