मुस्ताङ :मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेतीसम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन्। राज्यको तीनै तहका कृषि प्राविधिकहरू सहभागी रहेको उक्त तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन हुने छ। सङ्घीय, प्रदेश र स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम बुधवारदेखि सुरु भएको र शुक्रवार सकिनेछ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतीका विविध प्रविधिहरू देखाउने र सिकाउने साथै ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको आयोजक संस्था शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ। तालिमका संयोजक शीतोष्ण बागवानी विकास केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाका अनुसार तालिममा १७ जिल्लाका १८ जना प्राविधिकहरू सहभागी छन्। १५ जना पुरुष र तीन जना महिला प्राविधिकले तीन दिनसम्म मार्फा क्षेत्रमा ओखरको प्राविधिक पाटाहरूको अध्ययन गर्नुका साथै अभ्यास पनि गर्नेछन्।
तालिममा मुस्ताङबाट २ जना र इलाम, धनकुटा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डू , तनहुँ, मनाङ, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, प्युठान, दैलेख, डोल्पा, बैतडी, दार्चुलाका एक एक जना सहभागी छन्। तालिममा सकेसम्म बढी व्यावहारिक ज्ञान दिने हिसाबले करिब ६० देखि ७० प्रतिशत व्यावहारिक र ३० देखि ४० प्रतिशत जति सैद्धान्तिक कक्षाहरू दिइने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । ओखर खेती प्रविधि तालिममा सहभागीताका लागि अनलाइन दरखास्त आह्वान गरेको र अनलाइन माध्यमबाट एक सय एक जनाले फारम भरेकोमा १९ जना मुख्य र २ वैकल्पिक गरी कुल २१ जना सहभागीलाई छनोट गरिएको आत्रेयको भनाइ छ।
तालिममा ओखरको प्रसारण: सायन तथा रुट स्टक छनोट र प्रसारण गर्ने प्रमुख विधिहरू सहभागीहरूलाई सिकाइने आयोजकले जनाएको छ। तालिममा टङ्ग ग्राफ्टिङ् र चिप वडिङ्, ओखरको फूल फुल्ने प्रक्रिया, तालिम तथा काँटछाँट, वाक्सिङ्, टप वर्किङ्, नेचुगी र ब्रिज ग्राफ्टिङ् विधिहरूको बारेमा व्यावहारिक रूपमा सिकाइनेछ।
तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ। त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनोट, रेखाङ्कनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनोट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ्, अन्तरबाली व्यवस्थापन, भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको थियो।
ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराइनेछ। ओखरको प्रसारण सायन तथा रुट स्टक छनोट र प्रसारण गर्ने प्रमुख विधिहरू, गुणस्तरीय बिरुवा उत्पादनको लागि बीउको छनोट, उपचार, रुट स्टक बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनलगायतका विषयमा पनि तालिममा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
फलफूलमा तन्तु प्रजनन विधि तथा ओखरमा यसको महत्त्व र नर्सरीमा भइरहेका विविध क्रियाकलापहरू बोड्रो मिश्रण र बोड्रो पेष्ट बनाउने तरिका र ओखरमा यसको प्रयोगका बारेमा पनि सिकाइनेछ। त्यस्तै ओखरमा लाग्ने मुख्य मुख्य रोगहरू र कीराहरू र तिनको व्यवस्थापनको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नेछ।