काठमाडौं— पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।

रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

OM Sai Pathibhara Hospital

निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।

‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’

श्रेष्ठले एक पदाधिकारीलाई ‘मेन्सन’ गर्दै ग्रुपमा यो जवाफ दिएकी हुन् । उनले आफू दाबेदारीबाट पछि नहट्ने स्पष्ट संकेत गरेकी छन् ।

पार्टीका अर्का पदाधिकारीले भने रविले टीका लगाएर पद नबाँडेको, बरु पार्टी संगठनमा दुई उपसभापतिमध्ये एक अर्याललाई, अनि संसदमा अर्का उपसभापति वाग्लेलाई स्थापित गर्नु न्यायोचित भएको धारणा राखेको बताए । ‘जे निर्णय गरे पनि त्यो पार्टीकै निर्णय हो, तर रवि दाइको मनसाय यस्तो छ,’ ती नेताले भने ।

सुमनालाई रोक्ने तयारीमा रहेका केही सांसदले भने उनलाई काउन्टर दिन चन्दा कार्कीको नाम अघि सारेका छन् । उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् । संसदको बैठक सुरु हुनुअघिसम्म यो विषय निरुपण भइसक्ने रास्वपाले बताएको छ ।