काठमाडौं— नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।
कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’
आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । प्रसाईंले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गरेका हुन् ।
‘प्रसाईले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन’ भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका थिए । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताका पनि आइरहने धम्की पनि प्रसाईंले दिएका थिए । प्रसाईंलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।