काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्दै पीडित र सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु र प्रहरी गतिविधि सम्बन्धमा सोमबार आयोजित निर्देशन सम्बोधनमा कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनामा प्रहरीको प्रभावकारी उद्दार कार्यको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

OM Sai Pathibhara Hospital

सडक दुर्घटना न्यूनीकरण र जनचेतना फैलाउन सरोकारवाला निकाय, स्थानीय तह र नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढंगले परिचालन हुनुपर्नेमा उनले जोड दिए। लागूऔषध ओसारपसार, सीमावर्ती अपराध, तस्करी, राजस्व चुहावट, बैंकिङ कसुर लगायतका आर्थिक अपराध नियन्त्रणमा उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा ल्याउनुपर्नेमा कुँवरले बल दिए। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताउँदै, अपराध अनुसन्धानको क्रममा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा पनि उनले ध्यानाकर्षण गराए।

प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै, प्रहरी कर्मचारीहरूलाई सकारात्मक उत्प्रेरणा र व्यावसायिक क्षमता अभिवृद्धि गर्दै नागरिकमैत्री सेवा प्रवाहमा एकताबद्ध भई खटिनुपर्ने कुँवरले बताए।