काठमाडौं–केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका नेपाली कांग्रेस र एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।