काठमाडौं— सरकारले नुनको मूल्य बढाएको छ । हरेक भान्सामा नियमित प्रयोग हुने आयोनुनको मूल्य एकैपटक ३० प्रतिशतले बढेको हो । अब नुन किन्ने उपभोक्ताले किलो मै ६ रुपैयाँ बढी तिर्नुपर्ने छ । 

नुन आयातको एकाधिकार पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यसअघि प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्य तोकेकोमा अब २६ रुपैयाँ पुर्‍याएको हो। तर, २० रुपैयाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपैयाँमा बेच्दै आएका व्यापारीले अब बढाएर असुल्ने चिन्ता छ।

OM Sai Pathibhara Hospital

साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो। साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले मूल्य समायोजनपछि अब एक केजी प्याकेट आयोनुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ पर्ने बताए। 

उनका अनुसार यसअघि प्रतिकेजी थोक मूल्य १८ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य २० रुपैयाँ थियो। नुनको व्यापारमा कम्पनीलाई घाटा भएकाले मूल्य समायोजन गरिएको, तैपनि अझै लागतभन्दा बिक्री मूल्य कम नै रहेको राजभण्डारीको दाबी छ। 

त्यस्तै, न्यु शक्ति नुनमा प्रतिकेजी पाँच रुपैयाँले वृद्धि गरिएको छ। अब न्यु शक्ति नुन केजीको थोक मूल्य १७ रुपैयाँ र उपभोक्ता मूल्य २० रुपैयाँ पर्ने प्रवक्ता राजभण्डारीले बताए। यसअघि यो नुन प्रतिकेजी थोक १३ रुपैयाँ ५० पैसा र उपभोक्ता मूल्य १५ रुपैयाँ थियो। तर, भानु नुन भने प्रतिकेजी उपभोक्ता मूल्य नौ रुपैयाँ नै रहेको उनले बताए। दुर्गम क्षेत्रमा जाने भएकाले भानुको मूल्य समायोजन नगरिएको उनको भनाइ छ। राजभण्डारीले न्यु शक्तिमा प्रतिकेजी २० र भानुमा २१ रुपैयाँ लागत रहेको पनि बताए। 

नेपालमा वार्षिक दुई लाख २० हजार टन नुन खपत हुने गरेको साल्ट ट्रेडिङले जनाएको छ।