कैलाली— कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 


OM Sai Pathibhara Hospital

नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन्।


बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ।


उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छिन्।


धनगढीको आन्तरिक आय ३६ करोड ७६ लाख रुपैयाँ हुने आकलन गरिएको छ। त्यस्तै, राजस्व बाँडफाँटबाट प्राप्त हुने ४८ करोड २९ लाख ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने एक अर्ब एक करोड ८७ लाख रुपैयाँ बजेटको स्रोतको रूपमा रहने उपमहानगरले जनाएको छ। 


त्यसैगरी अन्तरसरकारीतर्फ प्रदेशबाट आठ करोड २८ लाख रुपैयाँ प्राप्त हुने तथा चालू वर्षको २३ करोड २३ लाख रुपैयाँ बचत हुने अनुमान रहेको उपप्रमुख रानाले बताइन्।


युवालाई रोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने, एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र अतिक्रमणमा परेका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गालगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने कार्यक्रम बजेटमा समावेश गरिएका छन्। 


नगर प्रहरीलाई साधनस्रोत उपलब्ध गराएर नगरवासीलाई आवश्यक पर्दा तत्काल खट्न सक्ने गरी ‘हरघडी, नगर प्रहरी’ को नीतिसहित परिचालन गरिने नीति उपमहानगरले लिएको छ। 


उपमहानगरले सामाजिक विकासतर्फ सबैभन्दा बढी एक अर्ब १५ करोड ७७ लाख र पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन्।


सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी यो प्रदेशको एक मात्र उपमहानगरपालिका हो। प्रदेशको प्रमुख व्यापारिक केन्द्र रहेको धनगढीमा बसाइँसराइको चाप बढ्दो छ।