काठमाडौं— मनसुन सुरु भइसकेको छ। यो समय लामखुट्टे निकै सक्रिय रहन्छन्। लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगहरूमध्ये डेंगु एक हो। डेंगु भएपछि धेरै दिनसम्म पनि अत्यधिक ज्वरो आइरहने, सिटामोल खाँदा पनि नघट्ने हुन्छ।

समयमै उपचार नगर्दा डेंगुले थप जटिलता निम्त्याउने र ज्यानै लिन सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ। डेंगु एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो।

OM Sai Pathibhara Hospital

डेंगु भाइरस चार प्रजातिका हुन्छन्: डेन १, डेन २, डेन ३ र डेन ४। एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्। त्यहीकारण हामीले लार्भा नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ।

IMG-20240326-WA0001 4

सतर्कताका उपाय 

- एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ। लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्ने गर्छ। तसर्थ, यस्ता ठाउँ सफा राख्नुपर्छ। पानी राख्ने भाँडा छोपेर खान सकिन्छ। 

- घरवरपर पानी जम्न नदिने, खाल्डा पुरिहाल्ने। गमलाको पानी जम्नेबित्तिकै त्यसमा भएको प्लेट घोप्ट्याइहाल्ने, झुलको प्रयोग गर्ने, आफ्नो घरवरपर सफा राख्ने, झाडी छ भने काट्ने, झाडीमा जानुपरे फुल स्लिभ भएको कपडा लगाएर जाने, टायर पसल र वर्कसपमा काम गर्नेले पनि फुल स्लिभ लगाउने, छालामा मस्क्युटो रेपेलेन्ट लगाउने (यसको गन्धले लामखुट्टे नआउने हुन्छ)लगायत काम गर्नुपर्ने हुन्छ। 

- बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ। यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ। सुत्ने ठाउँमा झुलको प्रयोग र झ्यालढोकामा जाली प्रयोग गर्नुपर्छ।

- पानी जम्मा हुने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ। डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ।  

डेंगुका लक्षण 

- डेंगु हुँदा तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउँछ। ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ। 

- टाउको दुख्ने, पेट दुख्ने, 

- वाकवाकी लाग्ने, खानामा रुचि नहुने 

- आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, 

- रातोरातो बिमिरा देखिने,  

- कतिपयमा नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने,  

- थकान, कतिपयमा बेहोस हुने पनि हुन सक्छ ।

डेंगु लागे के गर्ने ?

- डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ।  अरू बेलाभन्दा यो बेला शरीरमा पानी कम हुने हुँदा प्रशस्त पानी पिउने। 

- धेरै मसला, चिल्लो भएका खानेकुरा नखाने। 

- झोलिलो खानेकुरा प्रशस्त खाने।