झापा  / तेह्रथुम जिल्लामा ७६ वर्षअघि जन्म भएर झापा जिल्लालाई कर्मथलो बनाएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापाको क्षेत्र नम्बर ३ बाट आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सिटौलालाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएका छन् । 

OM Sai Pathibhara Hospital

शालीन छविका सिटौला कांग्रेसभित्र मध्यमार्गी नेताका रुपमा परिचित छन् । जब पार्टीमा संकट उत्पन्न हुन्छ, त्यसको समाधानका लागि सिटौलाको भूमिका अनिवार्य रहने गरेको छ । पार्टीमा मात्र होइन १० वर्षे जनयुद्धको शान्तिपूर्ण अवतरणका लागि सिटौलाको भूमिका मुख्य थियो । त्यसबेलाका पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सन्देश लिएर सिटौलाले द्धाेन्दरत माओवादीलाई राजनीतिक मूलधारमा ल्याउन सफल भएका थिए । 

पार्टीभित्र माओवादीप्रति नरम भएको भनेर सिटौलाको प्रशस्त आलोचना हुने गरेको थियो । तर, उनले देशमा शान्ति स्थापनाको लागि आफूमाथि भएका आलोचनालाई सामान्यरूपमा लिँदै राजनीतिक गतिविधि जारी राखे । अन्ततः उनकै सक्रियतामा राजतन्त्रको अन्त्य भयो । देशमा शान्ति स्थापना भयो । राज्यको पुनसंरचना भयो । लोकतान्त्रिक शासन ब्यवस्था स्थापित भयो । देशमा आमूल परिवर्तन भयो ।  

शान्ति स्थापनामा सफल नेता सिटौलाले निर्वाचनमा भने खासै प्रभाव जमाउन सकेका छैनन् । अन्य नेताले जस्तो निर्वाचन क्षेत्रविकासमा ध्यान नदिँदा सिटौला कमजोर रहने गरेको आरोप पनि लाग्ने गरेको छ । हरेक पटकको निर्वाचन सिटौलाका लागि कठोर परीक्षा बन्ने गरेको छ । अर्थात उनले लडेका आधा भन्दा बढी निर्वाचनमा अधिकांशमा पराजय भोगेका छन् । २०४८ सालदेखि उनी झापा –३ बाट निर्वाचनमा सहभागि हुन थालेका हुन । 

प्रजातन्त्र स्थापनापछि २०४८ सालमा भएको आम निर्वाचनमा सिटौलाले नेकपा एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजय व्यहोरे । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा भने एमालेका लीला उदासीलाई हराउँदै सिटौला बिजयी बनेका थिए भने २०५६ सालमा भएको निर्वाचनमा एमालेकै पुष्प पोखरेलसँग पराजित भएका थिए । 

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग उनी पराजित भए । माओवादीको क्रेज सबैतिर भएको समयमा निर्वाचन जित्न उनले सकेनन् । २०७० सालको अर्को संविधानसभा निर्वाचनमा भने सिटौलाले विजय हासिल गरे । राप्रपाका राजेन्द्र लिङदेनलाई त्यस निर्वाचनमा सिटौलाले पराजित गरेका थिए । तर, २०७४ सालको निर्वाचनमा उनै लिङदेनले सिटौलालाई हराए । तत्कालिन बाम गठबन्धन गरेर निर्वाचनमा होमिएको शक्तिसँग चुनावी तालमेल गर्दै लिङदेनले सिटौलालाई हराएका थिए । 

यस बर्षको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्ने कुरामा उनी बिश्वस्त छन् । ‘यो सिस्टम मन पराउने र यसका बिरोधीबीचको प्रतिष्पर्धा हो, सिटौलाले अधिकांस कार्यक्रममा भन्छन्–‘ म परिवर्तनको पक्षधर हुँ, पश्चगमन यस क्षेत्रले स्विकार गर्दैन ।’ उनी झापा क्षेत्र नम्बर ३ का मतदाताले अहिले पाएको राजनीतिक, सामाजिक, आर्थिक लगायतको स्वतन्त्रता परिवर्तंन चाहने दलको सक्रियताका कारण सम्भव भएको बताउँछन् ।
 
सिटौलाले यसबर्षको निर्वाचनमा भिड्न झापा –३ ‘क’ बाट भूमिराज राजबंशी तथा  ‘ख’ बाट पुर्णसिंह राजबंशीलाई प्रदेशसभाको उम्मेदवार पाएका छन् । राजबंशी मुलका मतदाताको बसोबास धेरै रहेको यस क्षेत्रमा उनीहरुको प्रभाव पर्ने कुरामा उनी विश्वस्त देखिन्छन् । चुनावी गतिविधि शुरु गरेका सिटौलाले मतदाताको उत्साह प्रभावकारी रहेको बताउँछन् । 

२०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा कोइरालाका बिश्वासपात्र सिटौला उपप्रधान तथा गृहमन्त्रीसमेत भए । शान्ति प्रक्रियामा कोइरालाका सारथी सिटौलाको भूमिकाले उनलाई यस प्रक्रिया सम्पन्न गर्न सहज भएको थियो । शुसिल कोइराला सभापति भएका समयमा सिटौला पार्टीको महामन्त्रीमा मनोनित भएका थिए । 

महामन्त्रीको कार्यकाल पुरा गरेपछि सिटौलाले पार्टीभित्र बलियो उपस्थिती जनाउन थालेका हुन् । शालीन छविका नेता सिटौला कार्यकर्तामाझ प्रिय छन् । उनी कार्यकर्तामा परेको समस्या तत्काल समाधान गर्न सक्ने खुबीका कारण लोकप्रिय मानिन्छन्  ।