झापा  / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. –१ मा विभिन्न दल र स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा नेकपा एमालेले पूर्वकानुनमन्त्री एवं पार्टीका केन्द्रिय सदस्य अग्नि प्रसाद खरेललाई उम्मेदवार बनाएको छ भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले उम्मेदवारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

झापा –१ मा प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक उम्मेदवार बनेका शर्मा र पहिलो पटक चुनावी मैदानमा उत्रिएका खरेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

यसअघि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा एमालेबाट झापा –१ मा रविन कोइराला र झापा २ मा अग्नि खरेको को नाम चर्चामा रहेको भएपनि अन्तिम समयमा क्षेत्र नम्बर २ मा देवराज घिमिरेले टिकट पाएपछि खरेल क्षेत्र नम्बर १ मा सरेका हुन् । कोइराला भने प्रदेशसभामा चुनाव लड्ने भएका छन् ।

ओली सरकारमा महान्यायाधिवक्ता रहेका खरेलले राजनीतिमा फर्किने भन्दै २०७७ चैत  ६ गते पदबाट राजीनामा दिएका थिए । पछिल्लो समय उनी जिल्ला इन्चार्जको जिम्मेवारी लिएर झापामा नै बस्दै आएका छन् । 

आगामी मंसिर ४ को चुनावमा एमाले नेता खरेललाई राप्रपाले साथ दिने भएको छ भने कांग्रेस नेता शर्माले माओवादीको साथ पाउने छन् ।

शर्मा यसअघि संसदीय चुनावमा दुई पटक ०७० र ०७४ सालमा पराजय भोगिसकेका छन् । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए । कार्कीले ३६ हजार १७३ मत पाएका थिए भने कांग्रेसका विश्वप्रकाशले एक्लै ३३ हजार ३१० मत पाएका थिए । 

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा भने यस क्षेत्रमा एमाले बलियो देखिएको छ । यस क्षेत्रमा मेचीनगर नगरपालिकाका सबै वडाहरु समेटिएका छन् भने भद्रपुर नगरपालिकाका वडा नम्बर ९ र १०, बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडा यस निर्वाचन क्षेत्र अन्तरगत पर्छन् ।

स्थानीय चुनावमा मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो । कुल १५ वटा वडा मध्ये ११ वटा वडा एमालेले जितेको थियो । कांग्रेसले ३ वटा र माओवादीले एउटा वडा जितेको थियो । भद्रपुरका ९ र १० नम्बर वडाहरूमा पनि एमालेले नै जितेको थियो । त्यस्तै यस क्षेत्रमा पर्ने बुद्ध शान्ति गाउँपालिकाका ४ वडा वडा मध्ये तीनवटा कांग्रेसले र एउटा एमालेले जितेका थिए ।

एमालेले कूल ३१ हजार २३२ मत प्राप्त गर्दा कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । कांग्रेस र एमालेले पाएको मतको अन्तर ७ हजार १७३ छ ।

तेस्रो शक्तिका रुपमा देखिएको राप्रपाले ५ हजार ९२२ मत प्राप्त गर्दा माओवादीले ३ हजार ९०५,  नेकपा एसले १ हजार २५२ र लोसपाले १६२ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनका दलले २९ हजार २१६ मत पाएका छन्। जुन एमालेको सिंगल मत भन्दा २ हजार १६ कम हो । एमाले र राप्रपाबीच तालमेल हुँदा एमालेका पक्षमा ३७ हजार १५४ मत छ । जुन सत्ता गठबन्धन भन्दा ७ हजार ९३८ मत बढी हो । 

स्थानीय चुनावको मतका आधारमा एमाले अगाडि देखिए पनि कांग्रेस महामन्त्रीको व्यक्तित्वका कारण गत चुनावको गणित अहिले काम नलाग्ने कांग्रेस नेताहरुको तर्क छ । तर, एमाले नेताहरु भने राप्रपाको समेत साथ पाउँदा खरेल झनै बलियो बनेको बताउँछन् ।