काठमाडौँ / नेपालमा डेङ्गी सङ्क्रमणबाट  मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाडौँ  उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रूपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ । अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको सुझाव छ ।

OM Sai Pathibhara Hospital

यसैबीच दाङमा निजी क्लिनिक तथा अस्पतालहरूले डेङ्गी परीक्षणको शुल्क मनपरी रूपमा लिइरहेको स्थानीयले गुनासो गरेका छन् । डेङ्गी परीक्षण गर्दा अस्पतालअनुसार पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसमेत लिने गरेका हुन् । सरकारी अस्पतालमै पनि फरक-फरक शुल्क रहेको छ । घोराहीमा रहेका गोरखा अस्पताल र बुद्ध अस्पतालले डेङ्गी परीक्षणको शुल्क एक हजार पाँच सय रुपैयाँ लिने गरेका छन् । मितेरी अस्पतालले एक हजार दुई सय, सङ्गम पोलिक्लिनिकले एक हजार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आठ सय, राप्ती प्रादेशिक अस्पतालले सात सय र राप्ती गाउँपालिकाको स्वास्थ्य चौकी सिसनियाले पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी परीक्षण गर्ने टेस्ट र्‍यापिड किटलाई तीन सय रुपैयाँ पर्दछ । जिल्ला स्वास्थ्य कार्यालय दाङले शुल्क निर्धारण र अनुगमनको काम सङ्घीय मन्त्रालयको रहेको जनाएको छ ।