कैलाली / कैलालीको धनगढीमा ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

सोमबार सेती अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको भन्दै अन्यत्र लैजान आग्रह समेत गरेको छ ।  

OM Sai Pathibhara Hospital

अस्पतालले विशिष्टीकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांसपेशी बाँउडिने, मुटुको धड्कन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका थिए । अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।