चितवन / जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि पनि माडी नगरपालिका –१ चैनपुरकी ६० वर्षीया वृद्धाको इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको थियो । अन्य ८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ ।
सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो ।





































