चितवन / जापानिज इन्सेफ्लाइटिसका कारण  चितवनमा थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि पनि माडी नगरपालिका –१ चैनपुरकी ६० वर्षीया वृद्धाको इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको थियो । अन्य ८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । 

सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुनु । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय चापागाईँको भनाइ छ ।
 
सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन ।  अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए ।