काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

सोमबार काठमाडौँ महानगरले सूचना जारी गर्दै नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो ।

OM Sai Pathibhara Hospital

तर, यता नर्भिक अस्पतालले त्यसको जवाफमा मंगलबार महानगरको निर्देशन पालना गर्न नसकिने बताएपछि मेयर बालेन नर्भिक अस्पताल पुगेका हुन् ।

बालेन नर्भिक पुगेसँगै अस्पतालका कर्मचारीहरूले उनलाई संरचना नभत्काउन आग्रह गरेका थिए । मेयर बालेनले भने तत्काल ती संरचना हटाउन नर्भिकलाई निर्देशन दिएका छन् । 

नियम कानुन सबैलाई बराबर हुनुपर्ने बताउँदै फुटपाथ मिच्नु र सार्वजनिक जग्गा मिच्नु एकै भएको बालेनले बताएका छन् ।

सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनी रुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो ।

व्यवसायी बसन्त चौधरीको लगानी रहेको नर्भिक अस्पतालले अनधिकृत रुपमा जग्गा हत्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र काटेको थियो। 

तर, पनि चौधरी भने त्यसमा शक्तिको आडमा २० वर्षदेखि अनधिकृत रुपमा डेढ रोपनी जग्गामा रजाई गर्दै आएका छन् ।