बिर्तामोड / म्यानपावरलाई मोटो रकम तिरेर धेरै धन कमाउन र परिवारका इच्छा परिपूर्ति गर्न साउदी पुगेका १० नेपाली युवा अलपत्र परेका छन् । १० नेपाली युवा काठमाडौँ स्थित मेरिडियन म्यानपावर सर्भिस प्रा.ली बाट एक महिना अगि साउदी पुगेका थिए ।
अलपत्र परेका युवाहरू मध्ये ६ जना करिब १ महिना अघि र ४ जना दुई महिना अघि साउदीको रादिक भन्ने ठाउँमा पुगेको पीडित राजदूत तामाङले बताए । प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म म्यानपावरलाई रकम तिरेर गएका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको पीडितहरूको भनाई रहेको छ । केही दिन अघि मात्र अर्का कम्पनीका प्रतिनिधि भन्ने इजिपसियन नागरिकले काम गर्दागर्दै अशोक यादवलाई बाथरुम गएको बेला एक्कासि कुटेको थिए ।
अलपत्र परेका नेपालीले कम्पनीसँग खानाको लागि पैसा माग्दा ५०/१०० साउदी रियाल मात्र दिने गरेको उनीहरु बताउँछन् । रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा पनि समस्याको समाधान नभएको ऊनीहरू बताउँछन् । दूतावासबाट केही पहल नभएको भन्दै उनीहरूले साउदीमा जीवन सुरक्षित नभएको र नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल समेत गरेका छन् । यता म्यानपावरका सञ्चालक भने सम्पर्कमा आउन चाहेका छैनन् ।
अलपत्र परेका नेपालीहरूमा अशोक यादव, राजेन्द्र पासवान, धमेन्द्र कुमार यादव, काशीन्द्र दस, पदमबहादुर तामाङ, राजदूत तामाङ लगायत अन्य चार जना रहेको पीडित तामाङले जानकारी दिए ।