सप्तरी / सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरमा भएको दुर्घटनामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सप्तरीको नेपाल विद्युत प्राधिकरण बोलेरोका चालक बोदे बर्साइन –५ का २६ वर्षीय शिवराज यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
बोलेरो गाडीमा सवार बोदे बर्साइन –१० का ३० वर्षीय शैलेश यादव, महेश चौधरी, २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जनाएका छन् ।
विद्युत प्राधिकरण बोदे बर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।