बिर्तामोड / पछिल्लो समयमा प्रदेश १ का केही जिल्लामा शसस्त्र विद्रोहका नाममा हिंसात्मक गतिविधि गरिरहेको हिमाल सुरक्षा परिषद नामको सङ्गठनका मुख्य नाइके झापाका खगेन्द्र खरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएका प्रहरीले खरेललाई भारतको नकलबन्दा क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी बिहीबार बेलुका नेपाल ल्याएको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका खरेललाई इटहरी बम विस्फोटनका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको बताइएपनि सो विषयमा दुवै जिल्ला प्रहरी कार्यालयले भने आधिकारिक रुपमा केही पनि बताएका छैनन्

विगत एक महिना यता प्रदेश १ का झापा र सुनसरीमा भएका बम आतंक र बम विस्फोटनका घटनाका नाइके मानिएका उनलाई ईटहरी घटनापछि पक्राउ परेकी एक महिलाको बयानका आधारमा उनको मोबाइलको सहायतामा नकलबन्दा क्षेत्रमा बोलाएर पक्राउ गरिएको स्रोतले बताएको छ ।

भारतमा गएर पक्राउ गर्न र भारतमा पक्राउ परेकालाई नेपालमा ल्याउन सुर्पुदगी सन्धि नभएका कारण प्रहरीले खरेल पक्राउको विषयलाई अनुसन्धान बाँकी रहेको जनाउँदै सार्वजनिक भने गरेको छैन । इटहरी बम बिस्फोटनमा परी घाईते भएका रविन थापा र शेरजन गुरुङको बयानका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले इटहरी क्षेत्रबाट नै थप एक महिलालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी महिलाको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको प्रहरीले उनकै मोबाइलको सहायतामा भारतको आसाम क्षेत्रमा रहेका खरेललाई नकलबन्दा बोलाएर नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।

झापाको बिर्तामोड र दमक क्षेत्रमा बम आतंक मच्चाएको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले केहि समय अघि ९ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा झापाको गौरादह २ का सुमन कुमार कार्की , कन्काई नगरपालिकाका भिष्म थापा , दमक ९ का देवी बास्कोटा गुरागाई , कन्काई ३ का कुमार भनिने यामदत्त सिटौला , शिवसतासी १ का सरुण लिम्बु भनिने दिल कुमार सामेखाम , संखुसभाको खाँदबारी १० का मनमोहन दाहाल , गौरीगंज नगरपालिका ३ का आनन्द भनिने अनन्त प्रसाई गिरी , गौरादह ५ का प्रदीप थापा र गौरीगंज ३ का बिजय कुमार दास हलुवाई रहेका थिए ।

उनीहरु पक्राउ पछि पनि अनुसन्धान जारी राखेको समयमा नै सुनसरीको इटहरीमा चर्चमा पड्काउनका लागि बोकेको बम पड्कँदा हिमाल सुरक्षा परिषद आवद्ध मानिएका दुई युवा आफै घाईते भएका थिए ।

खरेल र पक्राउ परेकी महिलाको विषयमा केही पनि सार्वजनिक नगरेको प्रहरीले थप अनुसन्धान भइरहेकाले सो विषयमा केही पनि बताउन नसक्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउको विषयमा केहि पनि बताउन चाहेनन् । उनले सो विषयमा अनुसन्धान जारी रहेको जनाउँदै अनुसन्धान पूरा भएपछि पूर्ण विवरण सार्वजनिक गरिने जनाएका छन् ।