काभ्रे  (नेपाल समाचारपत्र दैनिकबाट )। स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेढ महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् ।

‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सिर्जना डंगोलले भने, ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’

OM Sai Pathibhara Hospital

‘पछिल्लो ७ दिनमा २ बालबालिकाको निधन भएको छ’, डा. सिर्जना डंगोलले भने, ‘समयमै अस्पताल नआउँदा बिरामी ल्याएको २४ घण्टा पुग्न नपाउँदै निधन भयो ।’ अस्पतालमा अहिले एक जना आईसीयूमा छन् भने २ जना सामान्य वार्डमा उपचारार्थ छन् ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा. डंगोलले बताए । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

स्क्रबटाइफसका बिरामी बढेसँगै स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयसँगको समन्वयमा सचेतना कार्यक्रम शुरु गरिएको डा. डंगोलले बताए । जनावर तथा ओसिलो स्थानमा पाइने किर्नालाई मुुसाको माध्यमबाट व्यक्तिको शरीरमा फैलने भएकाले मुसाबाट बच्न र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

अस्पतालका मेडिकल माइक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परीक्षण गरिएका १ सय ५० मध्ये ३४ जनाको तीन महिनाको अवधिमा पोजेटिभ देखिएको बताए । पोजेटिभ देखिनेमा बालबालिका धेरै छन् । डा. प्रकाश सापकोटाले स्क्रबटाइफसका बिरामी सातामा १, २ जना आउन थालेको बताए । स्क्रबटाइफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पुर्‍याई व्यक्तिको निधन हुन पुग्ने डा. प्रकाश सापकोटाले बताए ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रबटाइफसका बिरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिक सचेत रहनुपर्ने बताए । कान्ति बाल अस्पताल, चितवनको भरतपुर अस्पतालमा पनि स्क्रबटाइफसका बिरामी देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।