काठमाडौँ / कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायस् छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। 

विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। 

OM Sai Pathibhara Hospital

पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थालेका विद्यालय, कलेज दोस्रो लहरसँगै पुनस् बन्द भए। पहिलो र दोस्रो लहरको बीचमा करिब ३ महिना शैक्षिक क्षेत्र खुलेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले जनाएको छ। तेस्रो लहरले ढोका ढकढक्याउँदै छ। यसले अब शैक्षिक संस्था कहिले खुल्ने भन्ने अन्योल कायमै छ। कोरोना संक्रमण नभेटिएका पहाडी जिल्लाका केही स्थानमा फाटफुट मात्रै विद्यालय सञ्चालनमा रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन्।

मुलुकभर ३५ हजार ५ सय २० विद्यालय छन्। तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन्। सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी छन्। 

विकल्पका रूपमा अनलाइनमार्फत पठन–पाठन गरिए पनि प्रभावकारी बन्न नसकेको शिक्षाविद्, अभिभावक र सरोकारवाला बताउँछन्। १५ प्रतिशत विद्यार्थीले मात्रै अनलाइनमार्फत पठन–पाठनको सुविधा पाएका जनाइएको छ। अर्कोतर्फ अनलाइन कक्षाका नाममा बालबालिका कम्प्युटर, मोबाइलजस्ता विद्युतीय उपकरणको लतमा पर्न थालेको अभिभावकको गुनासो छ। स्रोत केन्द्रका सूचना अधिकारी दाहाल धेरै वैकल्पिक विधि अपनाइएको बताउँछन्। रेडियोबाट, टेलिभिजनबाट, स्कुल घुम्ती केन्द्र सञ्चालन गरेर, सार्वजनिक स्थलमा भौतिक दुरी कायम गरेर पठन–पाठन गराउनेलगायत बैकल्पिक विधि अपनाइएको उनको भनाइ छ। 

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सबैभन्दा उच्च प्राथमिकतामा राख्नुपर्ने शिक्षा क्षेत्रप्रति राज्य नै उदासीन रहेको बताउँछन्। ‘शिक्षा क्षेत्र अस्तव्यस्त छ’, अध्यक्ष थापा भन्छन्, ‘तर त्यसप्रति राज्य नै उदासीन छ।’ दूरी कायम गरी थोरै विद्यार्थीलाई विद्यालयमा राखेर पठन–पाठन सञ्चालन गर्न सकिने उनको भनाइ छ। निजी तथा संस्थागत विद्यालय पनि महामारीबाट प्रताडित छन्। विद्यालय बन्द हुँदा खर्बौंको क्षति बेहोर्नुपरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष टीकाराम पुरी बताउँछन्। अनलाइन कक्षामार्फत ७० प्रतिशत विद्यार्थी विद्यालयसँग जोडिएको उनको भनाइ छ।  ‘पढाइको हिसाबले निजी क्षेत्र अगाडि छ। ७० प्रतिशत विद्यार्थी जोडिएका छन्’, उनी भन्छन्, विद्यार्थीको क्षमता बिग्रन दिएका छैनौं।’  अन्नपुर्ण पोष्ट दैनिकबाट