देउखुरी / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

OM Sai Pathibhara Hospital

दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिएकी छन् ।

यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । 

तेस्रो लहरको सङ्क्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शैयाको सघन उपचार कक्ष, ५० शैयाको हाई डिपेन्डेन्सी युनिट(एचडीयू) र ३० शैयाको आइसोलेशन गरेर १०० शैया कोरोना सङ्क्रमितकालागि व्यवस्थापन गरिएको डा भण्डारीले जानकारी दिएका छन् ।

अस्पतालका निर्देशक डा प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रका शैया थप्ने काम जारी रहेको जानकारी दिएकी छन् । उनले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह फरेकी हुन् । प्रजिअ कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताएका छन् ।