चितवन / भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड –१९ सङ्क्रमितलाई सेवा दिएको छ । 

अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो । क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

 अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ । अठ्ठाइस जनाको उपचार गर्दागर्दै मृत्यु भएको छ । उपचार गरिएकामध्ये केही क्यान्सरका बिरामी, कुरुवा हुन् भने केही स्थानीय र बाहिरी जिल्लाबाट कोरोना उपचारका लागि मात्रै आएका हुन् ।

 गत वैशाख २० गते क्यान्सर उपचारका लागि आउने बिरामीलाई कोरोना पोजेटिभ देखिएमा उपचार गर्ने गरी २० शय्याबाट यो सेवा शुरु गरिएको डा शर्माले जानकारी दिनुभयो । उनले भने, “क्यान्सरका बिरामीलाई सङ्क्रमण भयो भने घरमा पठाउन पनि नमिल्ने, अरु अस्पतालले पनि नहेर्ने अवस्था आएपछि सेवा शुरु गरेका हौँ ।” क्यान्सरका बिरामीलाई सङ्क्रमण भएर अरु अस्पतालमा पठाउँदा यहीँबाट चिकित्सकसमेत पठाउनुपर्ने अवस्था आएपछि यहीँबाट सेवा शुरु गरेको उनको भनाइ थियो ।

 कोरोनाको दोस्रो लहर बढ्दै जाँदा सङ्क्रमितको उपचारका लागि जिल्लामा शय्या अभाव हुने देखिएपछि जेठ १ गतेदेखि सेवा विस्तार गर्दै १४० शय्या पु¥याइएको उनले बताए । तीमध्ये ८८ साधारण, ४० एचडियु, १२ आइसियू र चार भेन्टिलेटर रहेका थिए । 

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि अस्पतालमा रहेको हस्पिसमा सङ्क्रमितका लागि १५ शय्या छुट्याइएको छ । यहाँ हाल १० सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको पुरानो भवनमा साविककै वार्ड पुनः नियमित सञ्चालन गरी सेवा सञ्चालन गरिएको अस्पतालका नर्सिङ विभाग प्रमुख सविता पन्थीले बताए ।

  यसैबीच अस्पतालमा हालसम्म ४१ हजार ५१६ को स्वाब परीक्षण गरिएको छ । गत वर्षको भदौ २४ गतेदेखि कोभिड ल्याब (प्रयोगशाला) सञ्चालनमा आएपछि परीक्षण शुरु गरिएको हो । देशैभरि र भारतीयसमेत उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । कोरोनाको पहिलो लहरसँगै अस्पतालमा सङ्क्रमण हुन नदिन यहाँ आउने बिरामी र कुरुवाको परीक्षण शुरु गरिएको अस्पतालले जनाएको छ । 

उपनिर्देशक डा. शर्माले खैरहनी नगरपालिका र माडी नगरपालिकासँग सम्झौता गरेर त्यहाँको आइसोलेशनमा रहेकालाई यहाँबाट स्वाब परीक्षणका सेवा दिएको बताए । यसका अतिरिक्त विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय, स्थानीयवासीलाई पनि स्वाब परीक्षणको सुविधा भएको डा. शर्माले जानकारी दिए । शुरुको अवस्थामा नेपाल सरकारले रु पाँच हजार ५०० शुल्क तोके पनि आफूहरुले रु तीन हजार ५०० शुल्क लिएर सेवा शुरु गरेको उनको भनाइ छ । क्रमशः शुल्क घटाउँदै रु दुई हजार ५००, रु दुई हजार र हाल रु एक हजारमा परीक्षण हुने गरेको छ ।

 अस्पतालले तेस्रो लहरको तयारीस्वरूप आइसियु र एचडियुको क्षमता विस्तार गर्दै छ भने तरल अक्सिजन प्लान्ट छिट्टै सञ्चालन गर्ने जनाएको छ । हाल अस्पतालका शय्यामा भएका अक्सिजन पाइपलाइनको स्तरोन्नति र क्षमता विस्तारको काम भइरहेको छ ।