बिर्तामोड  / झापाको अर्जुनधारामा स्क्रब टाइफसका एक जना बिरामी फेला परेका छन् । अर्जुनधारा ७ का ३१ वर्षीय पुरुषको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफसले पोजेटिभ आएको हो ।

स्थानीय शनिश्चरे अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस फेला परेको हो । दुई पटकसम्म परीक्षण गर्दा पनि पोजेटिभ आएको थियो । स्क्रब टाइफसका बिरामी फेला परेको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालय झापालाई जानकारी गराइसकेको फोकल पर्सन मुकुन्द बस्नेतले बताए ।

OM Sai Pathibhara Hospital

के हो स्क्रब टाइफस ?

डेंगु रोगको जस्तै लक्षण स्क्रब टाइफसको हुन्छ । यो रोगको कीटाणु बोक्ने माइट झाडी (स–साना बोट बिरुवा) मा बस्ने हुनाले झाडीमा जाँदा किटाणुले टोक्यो भने यो रोग लाग्छ । टोक्ने क्रममा ओरेन्सिया सुसुगमुसी नामक परजिवी पनि शरिरमा छोड्ने हुनाले यो रोग देखा पर्ने गरेको छ । यो रोगको संक्रमण सबै ठाउमा नभएर विषेश स्थानमा मात्र भेटिने गरेको चिकित्सकहरूले बताएका छन् ।

नेपालमा मुसाले यो रोग सारेको पाइएको छ । झाडिमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडिमा सर्ने र सो झाडीमा मानिस जाँदा माइटले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । रोगलाई नेपाल सरकारले महामारी रोगको सूचीमा राखेको छ ।

स्क्रब टाइफसका लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गडबडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा बिरामी जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

रोकथाम के हो ?

कीटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोकथाम हो । यसको लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओच्छ्याएर बस्ने गर्नु पर्दछ ।

नेपालमा स्क्रब टाइफसको अवस्था

हाल सम्ममा नेपालमा स्क्रब टाइफस बाट ६ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा ३२ जिल्लाका २२२ जनामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्यु हुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन् ।