बिर्तामोड / विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको परिवारले झापाको बिर्तामोड स्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका संचालक एवं व्यवसायी दुर्गा प्रसाईँले थापाको उपचारका लागि गर्ने भनेको सहयोग अस्विकार गरेको छ ।

थापाको परिवारका तर्फबाट विज्ञप्ति जारी गरी आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नरहेको जानकारी गराईएको छ । प्रसाईँले थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा शनिबार बिहान गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईंको सहयोग अस्वीकार गरेको हो।

OM Sai Pathibhara Hospital

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले थापाको परिवारले प्रसारको सहयोग अस्विकार गरेको जानकारी गराएका छन् । विवादास्पद व्यवासायी प्रसाईले देखाएको सदभावका लागि धन्यवाद दिंदै उनले प्रसारको सहयोग लिन नसकिने बताएका छन् ।

कोरोना संक्रमणका कारण विरामी परेका थापाको दुई हप्तादेखि  मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ। थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउड फन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन्।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको थापाको परिवारले जानकारी गराएको छ ।