काठमाडौं। अविरल वर्षाले देशभरका मुख्य सडकमार्गमा गम्भीर असर परेको छ। पहिरो, हिलाम्मे सडक र सम्भावित बाढीका कारण दर्जनौं स्थानमा यातायात सेवा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।
सबैभन्दा बढी प्रभाव बिपी राजमार्ग र कान्तिलोकपथमा परेको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा बुधबार बिहान सुक्खा पहिरो खसेपछि सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
पूर्वदेखि पश्चिमसम्मका अन्य महत्त्वपूर्ण सडकहरू पनि प्रभावित भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएर बन्द भएको छ भने सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
यस्तै, बागलुङको कालीगण्डकी करिडोर, पाँचथरको राँके–रवि–भेडेटार सडक, र गोरखाको आरुघाट–माछिखोला सडक पनि पहिरोका कारण सञ्चालन हुन सकेका छैनन्।
प्रहरीले वर्षा अझै जारी रहने सम्भावना रहेकाले नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सडक खुलाउने प्रयास जारी रहे पनि मौसममा सुधार नआएसम्म थप अवरोध हुन सक्ने भएकाले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न अनुरोध गरिएको छ।






































