काठमाडौँ / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । 

गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गरेका हुन् । 

OM Sai Pathibhara Hospital

धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सय जनाभन्दा बढी नयाँ भेरियन्टसहितको कोरोना पोजेटिभ भएकालाई यो औषधि मङ्गलबार वितरण गरिएको छ ।

औषधी रोग प्रतिरोधी क्षमता बढाउनाका साथै रुघा, खोकी, ज्वरो, फ्लु, ग्याष्ट्रिक, रक्तचाप, मधुमेहलगायत उपयोग गर्न सकिन्छ । न्यून रक्तचाप हुनेले बिरे नुन मिसाएर यो औषधि सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सल्लाह छ । समस्याको गम्भीरताका आधारमा आयुर्वेद चिकित्सकसँग सम्पर्क गरेर पनि यो औषधि सेवन गर्न सकिनेछ ।

औषधिमा गुर्जो, तुलसी, असुरो, ज्वानो, दालचिनी, ल्वाङ, हर्रो, बर्रो, अमला, मरिच, पिपला, सुठो, निम, चिराइतो, जेठीमधु, रुधिलो, तीतेपाती, कालोजिरा, बेसार, जङ्गे हर्रो, लेमनग्रास, अम्बापात लगायत ४५ को मिश्रण रहेको उनले जानकारी दिए । दिनमा तीन पटकसम्म मनतातो पानीमा मिसाएर  धुलो औषधि सेवन गर्न सकिने जनाइएको छ ।

गर्भवती महिला र आठ वर्षमुनिका बालबालिकाकालाई यो औषधि सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । गुर्जो चिया एक लिटर पानीमा एक चम्चा राखेर उमालेर नछानी खान सकिन्छ । धेरै जडीबुटी मिश्रणसँगै मिसाइएका जडीबुटीको नामका साथै सेवन गर्ने विधिका बारेमा जानकारी सहित प्याकेजिङ गरी वितरण शुरु भएको हो ।

गुर्जोको काँडा र चिया निर्माणमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादव र डा लेखनाथ ढकालको सल्लाह लिइएको अभियानकर्मी राजलवटको भनाइ छ । गुर्जो चिया रोग प्रतिरोधी क्षमता बढाउन चाहने सबैलाई उपलब्ध गराइने छ । धुलो औषधि भने विशेषगरी कोरोना पोजेटिभ भएकालाई नै उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकामा २५ वटा केन्द्र बनाएर औषधि र चियाको धुलो वितरण शुरु गरिएको छ ।

 राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आएका छन् । यसअघि राजश्व कार्यालय लहानको प्रमुख रहेका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका  बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् । यस वर्ष पनि गुर्जोको बिरुवा तयार पारी रोप्नका लागि वितरण गर्ने तयारीसमेत भइरहेकोे पनि अभियानकर्मी राजलवटले सुनाए । कोरोनाको महामारी तीव्र भएसँगै गुर्जो र यसबाट परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उनले सुनाए । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करीब दुई लाखभन्दा बढी मानिसलाई खुवाइएको राजलवट बताउँछन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं फुर्तिलोसमेत बनाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्यले बताए । गुर्जोसँगै औषधिजन्य जडीबुटी पनि घरघरमा रोपेर आयुर्वेदको प्रवद्र्धन गर्न उनको सुझाव छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ । 

सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्ण लगायतको माग बढिरहेको बताए । माग बढेकाले कतिपय औषधिको उत्पादनसमेत बढाइएको उनले जानकारी दिए ।