विराटनगर / कोरोना संक्रमित बिरामीको उपचारमा प्रभावकारी भुमिका खेलिरहेको बिराटनगर स्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ ।


OM Sai Pathibhara Hospital


सोमबार राती उत्स्रिङखल युवाहरुको समुहले मेडिकल कलेजको आकस्मिक कक्षमा प्रवेश गरी उपचारमा खटिएका डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेका हुन् । 

डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आकस्मिक कक्षमा छिरेर डाक्टरमाथि आक्रमण गरेको हो ।

दुर्घटनामा परेर घाइते भएका विरामीको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि अन्धाधुन्द आक्रमण भएको थियो । कुटपिटबाट रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरु उपचारमा रहेको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए ।

घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचारमा ढिलाई भएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको हो ।

मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । त्यहाँबाट आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो ।

सामान्य अवस्थाकी वृद्धाको उपचारमा ५ मिनेट ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमण भएको हो । अस्पतालले बिरामीको उपचारमा खटिनेहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको र घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताएका छन् ।