काठमाडौँ / कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ ।

वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे । भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुने, भीडभाड नगर्नेलगायतका स्वास्थ्य मापदण्डसँगै खोप नै कोरोनाबाट बच्ने उपाय भएको विज्ञको सुझाव छ ।

OM Sai Pathibhara Hospital

सुरुमा चिकित्सकहरूले दुई सातापछि मात्र निषेधाज्ञाको नतिजा आउन सुरु गर्ने आकलन गरेका थिए तर नेपालमा सङ्क्रमितको साथै मृतक र सक्रिय सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपले अगाडि बढेपछि कोरोनाको भयावह रूप देखा पर्ने विज्ञहरूकै निष्कर्ष छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले नै नेपालको स्वास्थ्य क्षेत्र विकराल बन्दै गएको बताउन थालिसकेका छन् । बुधबारको तथ्याङ्क हेर्दा पनि उपत्यकामा तीन हजार ९२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । निषेधाज्ञा सुरु हुने दिन उपत्यकामा एक हजार पाँच सय मात्र सङ्क्रमित थिए ।

वीर अस्पताल, शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आकस्मिक कक्षमा कोरोना भएका र नभएका बिरामी बराबरी नै उपचार गराइरहेका छन् । सुरुमा आकस्मिक कक्षमा आउँदा कोरोना वा अन्य रोगले उपचारका लागि आएको हो भन्ने केही थाहा हुँदैन । पछि पीसीआर गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि मात्र थाहा हुन्छ कि बिरामीलाई अरू रोगसँंगै कोरोना पनि रहेछ भनेर । वीर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले वीर अस्पतालमा अव्यवस्थित रूपमा उपचार भइरहेको र आफूहरू ठूलो जोखिममा रहेकोे जानकारी दिए ।

आकस्मिक कक्षमा एउटै शय्यामा तीन जनाको उपचार भइरहेको छ । उनले भने, “कुन बिरामी ‘कोभिड’ र कुन ‘ननकोभिड’ थाहा हुँदैन । बिरामी उपचार गर्न आउँदा कोभिडको लक्षण छ भने पनि अरू उपचार हुँदैन भनेर लक्षण पनि भन्दैनन् । वीरमा मात्र होइन, त्रिवि शिक्षण अस्पतालमा पनि हालत त्यही अवस्था छ । आकस्मिक कक्षमा तीन जनासम्म राखेर उपचार भइराखेको हुन्छ । अक्सिजन नपाएर बिरामीहरू छटपटाइरहेका छन् ।”

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोनाबाट आत्मरक्षा गर्नुबाहेक अरू उपाय नरहेको बताए । “हरेक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक, नर्स पोजेटिभ छन्, उनीहरूलाई काममा लगाउन मिल्दैन,” डा. पुनले भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य सङ्गठनले खतरनाक रहेको भन्दै पुष्टि गरेपछि नेपालमा त्यही भाइरस भएकाले अवस्था कठिन रहेको बताए ।

आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने भन्दै उनले पहिले बालबालिकालाई नदेखिएको कोरोना अहिले बालबालिका, युवा, वृद्धवृद्धा सबैलाई देखिएको बताए । पछिल्लो स्वास्थ्य मापदण्डमा कडाइ नगरेमा बालबालिका तथा युवा समेतको मृत्यु भएको भन्दै उनले अब कोरोनाले कुन रूप लिन्छ भन्ने आकलन गर्नै कठिन हुने भएकाले आत्मअनुशासनमा बस्न नागरिकलाई अपिल गर्नुभयो । डा. पुनका अनुसार भारतमा सङ्क्रमण कम नभएसम्म नेपालमा कम हुनेछैन ।

निर्देशक डा. पाण्डेले सङ्क्रमित बढ्ने सङ्ख्या अझै एक महिना निरन्तर रहने बताउनुहुन्छ । अवस्था एकदमै जटिल छ भन्दै उनले थपे, “अहिले आफ्नो सुरक्षा आफैँ गर्ने हो ।” 

यो बेला बिरामी भएर वा कोरोना सङ्क्रमित भएर अस्पताल जानु भनेको धेरै कठिन हो भन्दै अस्पतालमा अक्सिजन नै नभए कोरोना लागेका मानिसलाई बचाउन मुस्किल पर्ने उनको भनाइ छ । कोरोनासम्बन्धी तीनवटा तर्क गर्दै भाइरोलोजिस्ट डा. पाण्डेले कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाउन सके अहिलेको अवस्था नआउने बताए ।

उनले सङ्क्रमित र मृतकको सङ्ख्या मात्र गनेर नहुने भन्दै कोरोना उपचार प्रभावकारी हुन नसकेको बताए । डा. पाण्डेले तर्क गरे, “जुन देशमा कोरोना सङ्क्रमित छैनन्, ती देशमा समेत हवाई उडान पूरै बन्द गर्ने र भारतमा कोरोनाको महामारी छ, त्यहाँ हप्ताको दुई पटक उडान गर्न दिनुनै उचित निर्णय होइन ।” 

अहिले पनि भारतबाट मानिस आइरहेकाले यो अवस्था आएको तर्क गर्दै डा. पाण्डेले भारतमा महामारी हुने बित्तिकै नेपालले भारततर्फका सबै नाका ठप्प पारिदिएको भए कोरोना सङ्क्रमण यो अवस्थामा नहुने भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न आह्वान गरे । गोर्खापत्र दैनिकबाट साभार