बिर्तामोड (कान्तिपुर दैनिकबाट ) पछिल्ला चार दिनमा औषधि व्यवस्था विभागले आफ्नो वेबसाइटमार्फत चारवटा सूचना सार्वजनिक गर्‍यो । ती सबै सूचना सघन उपचार गराइरहेका कोरोना संक्रमितका निम्ति उपयोगी हुने भनिएको औषधि रेम्डेसिभिरबारे थियो ।

पछिल्ला दिनमा संक्रमितको संख्या ९ हजार आसपास भइरहेका बेला विभागले रेम्डेसिभिरको माग पुर्‍याउन नसकेपछि यसको चरम अभावमात्रै भएको छैन, यही मौकामा कालोबजारीसमेत भइरहेको छ ।

OM Sai Pathibhara Hospital

विभागले गत मंगलबार ३ हजार र बिहीबार ४ हजार भाइल रेम्डेसिभिर बंगलादेशबाट ल्याएको थियो । मंगलबार नै ३ हजार भाइलमध्ये ५३ वटा अस्पतालमा २ हजार ४ सय ९ वटा र सोझै बिरामीलाई २ सय वटा गरेर २ हजार ६ सय ९ वटा रेम्डेसिभिर वितरण गर्‍यो । यो लटमा ल्याइएको बाँकी ३ सय ९१ भाइल कहाँ खर्च गरियो भन्ने विवरण विभागले सार्वजनिक गरेको छैन ।

त्यस्तै बिहीबार ल्याइएको ४ हजार भाइल रेम्डेसिभिर ४५ वटा अस्पतालमा ३ हजार १० वटा वितरण भएको सूचना विभागले सार्वजनिक गरेपछि बाँकी ९ सय ९० भाइल कहाँ उपयोग गरियो भन्ने सार्वजनिक गरेको छैन । सामान्यतः अहिले अस्पतालमा भर्ना भएका सिकिस्त कोरोना संक्रमितलाई चिकित्सकहरूले ६ भाइल रेम्डेसिभिर सिफारिस गरेको देखिन्छ । यसैलाई आधार मान्दा पनि विभागले ल्याएको रेम्डेसिभिर जम्मा १ हजार १ सय ६६ जनालाई मात्रै पुग्ने देखिन्छ । जबकि प्रत्येक दिन कोरोना संक्रमित हुनेको संख्या ९ हजारमाथि पुगिसकेको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको माग बढ्दै गएको बताउँदै भने, ‘अहिले हामीलाई एकदमै प्रेसर छ । चिनेजानेका देखि नचिनेकासम्म सबैले रेम्डेसिभिर माग्दै फोन गर्छन् । फोन नै अफ गरेर बस्नुपर्ने अवस्था छ ।’ उनले संक्रमित अस्पताल जानेबित्तिकै चिकित्सकहरूले रेम्डेसिभिर चलाइदिहाल्ने अवस्थाले पनि समस्या निम्तिएको बताए । उनले भने, ‘प्रोटोकल फलो नगरी रेम्डेसिभिरको सिफारिस गरिएको देखिन्छ । यसबारे विभागले स्वास्थ्य मन्त्रालयमा पनि कुरा उठाउँछ ।’

महानिर्देशक भट्टराईले आगामी मंगलबार बंगलादेशबाटै थप २२ हजार भाइल रेम्डेसिभिर ल्याइने सूचना आफूले आयातकर्ताबाट पाएको बताए । उनले बंगलादेश सरकारले अनुदानमा दिने भनेको दस हजार भाइल रेम्डेसिभिर पनि केही दिनपछि नै आउने खबर पाएको सुनाए । विभागका कर्मचारीहरू आफूकहाँ आएको रेम्डेसिभिर बिरामीको चाप हेरेर अस्पताहरूलाई कोटा तोकेरै तुरुन्तै दिने गरिएको र अस्पतालहरूले पनि कसलाई कति भाइल चढाइएको भन्ने विवरण बनाएर विभाग पठाउनुपर्ने नियम बसालेको बताउँछन् । बिहीबारै विभागले निकालेको सूचनामा रेम्डेसिभिर प्राप्त भएपछि अस्पतालले औषधि प्रयोगको विवरण अनिवार्य रूपमा आयातकर्ता र विभागमा पेस गर्नुपर्ने र त्यस्तो नगर्नेलाई औषधि उपलब्ध नगराउने उल्लेख थियो ।

विभागले सोझै अस्पतालमा रेम्डेसिभिर पठाएको बताए पनि पछिल्लोपटक आएको सात हजार भाइलमध्ये १ हजार ३ सय ८१ भाइल कहाँ, कसरी उपयोग गरियो भन्ने सूचना सार्वजनिक गरेको छैन । महानिर्देशक भट्टराईले कति भाइल कहाँ गयो भन्ने हिसाबकिताब आफूलाई थाहा नभएको बताए । विभागले सूचना अधिकारीका रूपमा सम्पर्क नम्बर सार्वजनिक गरेको दुई कर्मचारीमध्ये शुक्रबार दिनभर एक कर्मचारीको फोन अफ थियो भने अर्को कर्मचारीको फोनमा सम्पर्क हुनै सकेन । विभागको ल्यान्डलाइन नम्बरबाट पनि कसैसँग सम्पर्क हुन सकेन । भारतमा संक्रमितको संख्या बढेकाले अघिल्लो लहरमा जस्तो भारतबाट रेम्डेसिभिर कालो बजारीमा भित्रिने सम्भावना कम देखिन्छ तर पनि विभाग आफैंले वैशाख २० मा विभागले निकालेको सार्वजनिक सूचनामा कृत्रिम अभाव सिर्जना हुने गरी न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्ने गुनासो आएको व्यहोराको सूचना सार्वजनिक गरेको देखिन्छ ।

त्यसो भए रेम्डेसिभिरको कालोबजारी कसले र कसरी गरिरहेको छ रु यसको स्रोतमा विभागबाट अस्पतालसम्म रेम्डेसिभिर पठाउने संयन्त्रमा हुने छिद्र र अस्पतालहरूले रेम्डेसिभिर प्रयोगको सूचना सार्वजनिक नगर्ने परिपाटी दुवै जिम्मेवार हुन सक्ने देखिन्छ । बिहीबार मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले रेम्डेसिभिरको कालोबजारी गरेको आरोपमा गोरखाका रसुल मियाँलाई महाराजगन्जबाट पक्राउ गर्‍यो । रसुलले ६ भाइल रेम्डेसिभिर १ लाख २५ हजार रुपैयाँमा बेच्न खोजेका थिए । रसुलले आफूले एक फार्मेसीबाट रेम्डेसिभिर ल्याएको बताए पनि फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गर्न सकेन । महाशाखाका अनुसार फरार फार्मेसी सञ्चालकको खोजी जारी छ ।

महाशाखाका एसपी कृष्ण पँगेनीले पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा त्यसअघि पनि ५र७ जनालाई चर्को मूल्यमा रेम्डेसिभिर बेचिसकेको बताए । रसुलले एक मेडिकलसँगको मिलेमतोमा रेम्डेसिभिर कालोबजारीमा बेचेको बयानमा बताएका छन् । एसपी पँगेनीले रेम्डेसिभिरको कालोबजारी भइरहेको बारे आफूहरूलाई पनि सूचना आएको बताउँदै भने, ‘२५र३० हजार पर्ने ६ भाइललाई डेढ लाख रुपैयाँसम्म बेचिएको खबर आइरहेको छ ।’ उनले अत्यावश्यकीय औषधि कालोबजारीबारे आफूहरूले सूक्ष्म निगरानी थालेको बताए ।

एसपी पँगेनीले कालाबजारीमा पुगेको रेम्डेसिभिरको स्रोत के हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘निजी फर्महरूले आफूखुसी ल्याएर कालोबजारी गरेका हुन कि विभागबाटै अस्पतालमा पठाइएको रेम्डेसिभिर कालोबजारीमा पुगेको हो भन्नेमा अनुसन्धान केन्द्रित भइरहेको छ ।’

यसैबीच सरकारले बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउने भएको छ । बंगलादेशको औषधि कम्पनी बेकसिन्को फर्माले ५ हजार भाइल र बंगलादेश सरकारले थप ५ हजार भाइल रेम्डेसिभिर नेपाललाई सहयोग गर्न लागेको हो ।