बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) कोरोना महामारीका कारण मंगलबारदेखि विद्यालय र विश्वविद्यालयका परीक्षा रोकिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शिक्षण संस्थाहरूका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालले सोमबार परीक्षा लिए पनि मंगलबारदेखि हुने परीक्षा रोकिएका छन् । 

त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविमा स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित थिए ।

OM Sai Pathibhara Hospital

सीसीएमसीले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठन र परीक्षामा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । विद्यालय तहका परीक्षा पनि रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थानीय तहहरूले सूचना जारी गरेर पठनपाठन र परीक्षा स्थगित गरेका छन् । सचिव बरालले भौतिक उपस्थितिमा हुने कक्षा स्थगित गरे पनि वैकल्पिक माध्यमबाट कक्षा पठनपाठन जारी राख्नुपर्ने बताए । शिक्षा मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठनका लागि फेरि टेलिभिजनमा कक्षा सञ्चालन गर्ने र अनलाइन कक्षाका लागि आफ्नै डेटा सेन्टर स्थापना गर्ने गृहकार्य थालेको छ ।

गत वर्ष कोरोना महामारीको असरका कारण जेठसम्म शैक्षिकसत्र सारिएको थियो । संक्रमणको दोस्रो लहरले शैक्षिकसत्र डामाडोल भएको छ । जेठमा तय भएको एसईई र कक्षा १२ को परीक्षा पनि अनिश्चित बनेको छ । यी परीक्षाबारे अवस्था हेरेर केही दिनमा नै निर्णय लिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । मध्यपश्चिम, पोखरा विश्वविद्यालयलगायतले पनि परीक्षा स्थगित गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । मध्यपश्चिममा सोमबार पनि परीक्षा सञ्चालन हुन सकेन । विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्नातक तहको सत्रान्त परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको परीक्षा व्यवस्थापन प्रमुख आनन्दप्रसाद सुवेदीले जानकारी दिए । पोखरा विश्वविद्यालय परीक्षा समितिले पनि सूचना जारी गरेर पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरिएको जनाएको छ । जारी रहेका र तयारीमा रहेका परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक टेकराज ज्ञवालीले जनाए ।

गत साता सीसीएमसीले अति प्रभावित १४ जिल्लाका २५ सहरमा अनलाइन पठनपाठन गर्ने र परीक्षा भने स्वास्थ्य मापदण्डसहित सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा सञ्चालन गरिरहेका विद्यालय र विश्वविद्यालयले पनि उक्त निर्णयअनुसार परीक्षा रोकेका हुन् । प्याब्सन र एनप्याब्सनले पनि परीक्षा स्थगित गरिएको जनाएका छन् । काठमाडौं विश्वविद्यालयले पनि तयारीमा रहेका परीक्षाहरू स्थगित गरिएको जनाएको छ । ‘अनलाइनमा पठनपाठन थालेर आलोपालो कार्यालय आउने व्यवस्था मिलाएका थियौं,’ रजिस्ट्रार सुबोध शर्माले भने, ‘परीक्षाहरू सरकारको निर्णयअनुसार नै रोकिएको छ ।’

यसैबीच, मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म विद्यालय बन्दको निर्णय लिएको हो ।