बिर्तामोड (राजधानी दैनिकबाट) प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखि“दै आएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोलाले यो अवस्था कोरोना संक्रमणको अत्यन्त जोखिम अवस्था रहेको भन्दै आम व्यक्ति सचेत र चनाखो हुनुपर्नेमा जोड दिए ।

‘अधिकांश फोन, आईसीयू र भेन्टिलेटर खोजीमा आउँछन् तर टेकु अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ,’ उनले भने, ‘अब वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।’

उनका अनुसार बिरामीमा सुधार हुने अनुपात पनि घट्दोक्रममा रहेको भन्दै कोरोना संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले सही तरिकाले मास्क लगाउने, भौतिक दूरी कायम, भिडभाडमा नजाने, भिडभाडसहितको भोजभतेर नगर्ने, बन्द कोठामा बैठक वा भेटघाट नगर्ने तथा नियमित हातको सफाइ गर्ने बानी भए संक्रमण नसर्ने बताए ।


‘हरेक हामीले जनस्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्ने हो भने जतिसुकै खतरा प्रजातिको भाइरस आए पनि संक्रमण गर्दैन,’ उनले भने, ‘संक्रमण गर्न नपाएपछि भाइरस स्वतः निष्क्रिय हुँदै नष्ट हुन्छ ।’


त्यस्तै, शनिबार देशभर २ हजार ६ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल, नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ पुगेको छ ।

देशभर शनिबार ३ सय ६८ संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार १ सय २३ संक्रमित निको भएका छन् ।