बिर्तामोड ( नागरीक दैनिकबाट) कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो।
अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुनसक्ने मानिएको छ।
नेपालमा महामारीले तीव्र रुप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ। यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ। यसैगरी नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन्।
केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो। उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो। अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो।
अन्य भाइरस जस्तै कोरोना भाइरसले पनि लगातार रुप परिवर्तन गर्दै आएको छ। संक्रमित मानिसको शरीरभित्र र एक मानिसबाट अर्कोमा सर्दा भाइरसको उत्परिवर्तन ९म्युटेसन० निरन्तर भइरहने गर्छ। पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको संक्रमणमा भाइरसका ६ वटा भेरियन्ट बढी कारक रहेको अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सिडिसी० ले जनाएको छ। जसमा बेलायतमा देखिएको बी। १।१।७, दक्षिण अफ्रिकामा देखिएको बी।१।३५१, ब्राजिलमा देखिएको पी।१ तथा अमेरिकाको क्यालिफोर्निया र न्युयोर्कमा देखिएका २ नयाँ भेरियन्ट छन्।
हरेक भेरियन्टमा २ दर्जन उल्लेखनीय उत्परिवर्तन भएका छन्। अधिकांश परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा देखिएको छ। दक्षिण अफ्रिकामा देखिएका भेरियन्टले मानिसको प्रतिरक्षा प्रणाली तोड्न सक्ने, युके भेरियन्ट अत्यधिक संक्रामक र डबल म्युटेन्ट भाइरस एकबाट अर्को मानिसमा तीव्र हिसाबले सर्न सक्ने मानिएको छ।
यसैबीच त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागले कोरोना भाइरसको आनुवांशिक अध्ययन गर्न २ करोड मूल्य पर्ने नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ मेसिन खरिद गरेको छ। मेसिन विभागमा आइसके पनि आवश्यक रसायन ९रिएजेन्ट० को अभावमा अध्ययन हुन सकेको छैन। विभाग प्रमुख प्राध्यापक डा। कृष्णदास मानन्धरका अनुसार एक नमुनाको अध्ययन गर्न झन्डै ४५ हजार रूपैयाँ लाग्छ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्सले सहयोग गरेको एक परियोजनाअन्तर्गत नेपालका लागि आवश्यक पर्ने रिएजेन्टहरू खरिद गर्न लागिएको छ। ती रिएजेन्ट २ सातामा नेपाल आइपुग्ने आशा गरिएको छ। ‘रिएजेन्ट आएपछि १ सातामा भाइरसको सिक्वेन्सिङ हुन्छ र अर्को १ साताभित्र समीक्षासहित अध्ययन प्रतिवेदन तयार हुन सक्छ,’ कोरोनाका भेरियन्टहरूको अध्ययन गर्न सरकारले गठन गरेको सार्स–कोभ–२ भेरियन्ट कन्सोर्टियमको सदस्यसमेत रहेको प्राध्यापक मानन्धरले भने। उनले सुरुमा १०० नमुनाको अध्ययन गर्ने तयारी रहेको बताए। ‘देशभित्रै र सरकारी तबरमा यो अध्ययन हुनु ठूलो उपलब्धि हो। अध्ययन र अनुसन्धानले मात्र भाइरसको भेरियन्टका बारेमा यकिन गर्न सकिन्छ,’ उनले भने।
विज्ञका अनुसार अहिले देखिएको कोरोना भाइरसका झन्डै ३० हजार न्युक्लियोटाइड्स अथवा बेसहरू छन्। यो भाइरस पाहुनाकहाँ पुगेपछि यी बेसको संरचनामा परिवर्तन हुन्छ। २० बटा बेस मात्र परिवर्तन भएमा खर्बौं थरीका भेरियन्ट निस्कन्छन्। यी भेरियन्ट सुरुको मौलिक भेरियन्टभन्दा फरक हुन्छन्। हालसम्म विश्वमा १० लाख मानिसलाई संक्रमण गरेको भाइरसको आनुवांशिक सिक्वेन्स तयार भइसकेको छ।
स्वास्थ मन्त्रालयअन्तर्गतको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झा पछिल्ला दिनमा कोरोना पोजेटिभ देखिएकामध्ये ७७ प्रतिशतमा युके भेरियन्ट पाइएको र प्रयोगशालाले त्यही प्रयोजनको लागि एसजिनको परीक्षण गर्दै आएको बताइन्। ‘हामीले वर्षको ७०० देखि १ हजार नमुनाको जिनेटिक सिक्वेन्स गर्ने तयारी गरेका छौं। यसले भाइरस प्रसारको ट्रेन्ड कस्तो छ भनेर थाहा हुन्छ,’ नेसनल जेनेटिक कन्सोर्टियमको संयोजकसमेत रहेकी डा। झाले भनिन्। कन्सोर्टियममा विभिन्न विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०, निजी प्रयोगशाला, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विश्व स्वास्थ्य संगठनलगायत सहभागी छन्। इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका निर्देशक डा। कृष्ण पौडेल महामारी नियन्त्रणमा वैज्ञानिक प्रमाणको आधारमा गरिने निर्णय प्रभावकारी हुने ठान्छन्।
भाइरसको आनुवंशिक अध्ययन गर्न गठन गरिएको प्राविधिक कार्यदलका संयोजकसमेत रहेका डा। पौडेल भाइरसको आनुवंशिक अध्ययन गर्न सक्ने नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ मेसिन हाल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसहित २ वटा निजी प्रयोगशालामा रहेको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा हाल प्रयोग भैरहेको खोपले नयाँ भेरियन्ट नियन्त्रण गर्न कस्तो काम गर्छ भन्ने पत्ता लगाउन पनि यस्ता अध्ययन आवश्यक हुन्छन्।’ नयाँ भेरियन्टले युवा तथा बालबालिकालाई समेत संक्रमण गरेको देखिएको छ।
विज्ञान तथा प्रविधिसम्बन्धी पत्रिका न्यु साइन्टिस्टले सरुवा रोग ट्र्याक गर्ने परियोजना ‘नेक्सस्ट्रेन’ लाई उद्धृत गर्दै हालै प्रकाशित गरेको एक प्रतिवेदन अनुसार एसियाको ४० प्रतिशत भाइरस फैलावट युके भेरियन्टका कारण भएको छ।