बिर्तामोड (गोरखापत्र दैनिकबाट) भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।
आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी ९सुकुलढोका० र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।
गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताउनुभयो ।
तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।
बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाइन्छ । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ ।
लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा नयाँ वर्षको चार दिनपछिसम्म अर्थात् आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ ।
संस्कृतविद् ओम धौभडेलले जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता तथा बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ । जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भिœयाएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।
जात्राको पहिलो दिनलाई ‘द्यो क्वबिज्याइगु’ अर्थात् देउता तल सवारी हुने हो । भक्तपुर नगरको बीच भागमा रहेको टौमढी ङातापोल्हँ मन्दिरअगाडि राखेर बनाइएको रथलाई तल्लो भागतिर लैजाने भएकाले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिएको हो ।
रथमा तल्लो भागमा छवटा र माथितिर चारवटा डोरी राखेर स्थानीयवासीले तान्ने परम्परा छ । पहिलो दिन रथलाई तल लैजानुपर्ने भएकाले पहिलो दिन पूर्वी भागमा बढी डोरी राखिएको हुन्छ । रथलाई मिलाएर तान्नुपर्ने भएकाले दुवैतिर डोरी राखिएको हुन्छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख पक्ष रहेको चर्चा गर्दै संस्कृतिविद् धौभडेलले भन्नुभयो, “मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको हो । ” जात्रा अवलोकन गरे शत्रु नाश हुने जनविश्वास रहिआएको छ । भक्तपुरमा मात्र नभईक राजधानीको टोखामा पनि दुई चरणमा यो जात्रा मनाइने परम्परा छ ।