काठमाडौं / नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका श्रमिकहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ।
महासंघले उद्धार कार्यमा ढिलाइ भइरहेको भन्दै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो। बुधबार जारी विज्ञप्तिमा महासंघले हालसम्म करिब ९ सय श्रमिक सुरुङभित्र फसिरहेको दाबी गर्दै सात दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन नसकेको जनाएको छ। श्रमिकको ज्यान बचाउन आवश्यक स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।महासंघका अनुसार बाढी र पहिरोबाट जलविद्युत्, यातायात, निर्माण, पर्यटनलगायत क्षेत्रमा कार्यरत श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
सडक, पुल, सञ्चार, विद्युत् तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुग्दा हजारौँ श्रमिक रोजगारी र आवागमनबाट समेत प्रभावित भएका छन्। एनटीयूसीले बेपत्ता भएका चालक, सहचालक, वित्तीय तथा भारबाहक श्रमिकहरूको खोजी, उद्धार र सुरक्षित पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ। साथै, रोजगारी गुमाएका श्रमिकका लागि विशेष राहत प्याकेज ल्याउन, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, खाद्यान्न, अस्थायी आवास र पुनःस्थापनाका कार्यक्रम तीव्र बनाउन पनि सरकारसँग आग्रह गरेको छ।
महासंघले विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग समन्वय बढाउन तथा जलवायु परिवर्तनका कारण बढ्दो विपद्को असर न्यूनीकरणका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र पर्याप्त सहयोगको माग सशक्त रूपमा उठाउनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ।



































