नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास गरिरहेको छ । सुरुङभित्र पुग्न कठिन भएपछि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गरेर उद्धारको बाटो सहज बनाउने तयारीसमेत अघि बढाएका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।

यसअघि उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेको थियो । टोलीले त्यहाँ करिब २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउने प्रयास गरेको थियो । तर, भित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धारलाई थप प्रभावकारी बनाउन थप उपकरण परिचालन गरिएको छ ।

अहिले सुरुङको प्वाल फराकिलो बनाउने, ठूला उपकरण प्रयोग गर्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने कामसमेत अघि बढाइएको छ । सुरुङभित्रको अवस्था र उद्धारको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीले सावधानीपूर्वक काम गरिरहेको छ । कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली अहोरात्र उद्धारमा खटिएको छ । सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउँदै सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी छ ।