काठमाडौं । नेपाली कांग्रेसले गत श्रावण २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनबाट सुझावसहित पारित प्रतिवेदनहरूलाई अन्तिम रूप दिई सार्वजनिक गरेको छ ।
सम्मेलनबाट प्राप्त सुझाव, परामर्श तथा छलफलका निष्कर्षहरूलाई समेट्न गठित कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक प्रतिवेदनमा नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनको स्थापनाका लागि निरन्तर संघर्ष र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गरिएको छ ।
साथै, लोकतन्त्र, राष्ट्र र पार्टीका आदर्श तथा मूल्यहरूको संरक्षणका लागि योगदान पु¥याउने अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति सम्मान व्यक्त गरिएको छ ।
प्रतिवेदनमा जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । साथै भदौ २४ गते जेन–जी आन्दोलनको नाममा राज्य संरचना, निजी क्षेत्र तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी तथा राजनीतिक दलका कार्यालयमाथि भएका आक्रमणले लोकतान्त्रिक अभ्यास, संवैधानिक स्थायित्व र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनमा पार्टीभित्र देखिएको संगठनात्मक विवाद तथा कथित विशेष महाधिवेशनको प्रक्रियाले नेपाली कांग्रेसको आन्तरिक एकता, लोकतान्त्रिक संस्कार र वैधानिकतामा नकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ । नियमित महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीमा रहेका तत्कालीन नेतृत्वले समयमै आवश्यक प्रक्रिया पूरा नगर्दा विवाद सिर्जना भएको र त्यसले पार्टीभित्र मत विभाजनलाई गहिरो बनाएको ठहर प्रतिवेदनमा गरिएको छ ।
राष्ट्रिय सम्मेलनले जननायक विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिस्थितिमा पनि सान्दर्भिक रहेको उल्लेख गर्दै सबै लोकतन्त्रवादी शक्तिबीच संवाद, सहमति र सहकार्यको आवश्यकता औंल्याएको छ।
प्रतिवेदनमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त राष्ट्रका रूपमा स्वीकार गर्दै सबै नागरिकको धार्मिक स्वतन्त्रताको संरक्षणमा जोड दिइएको छ । साथै, संविधानलाई बदलिँदो समय, परिस्थिति र जनआकांक्षाअनुसार राष्ट्रिय सहमतिका आधारमा संशोधन तथा परिमार्जन गर्न सकिने धारणा पनि प्रस्तुत गरिएको छ ।
पार्टीले सर्वोच्च अदालतमा विचाराधीन आफ्नो वैधानिकतासम्बन्धी मुद्दामा न्यायिक प्रक्रियाप्रति पूर्ण विश्वास व्यक्त गर्दै स्वतन्त्र न्यायपालिका र विधिको शासनप्रति प्रतिबद्धता दोहो¥याएको छ ।
आर्थिक तथा सामाजिक रूपान्तरणका विषयमा प्रतिवेदनले प्रजातान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा पुनः स्थापित गरेको छ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा आर्थिक पहुँच विस्तारमा राज्यको भूमिका रहने र उत्पादन, लगानी तथा रोजगारी सिर्जनामा निजी क्षेत्रलाई प्रमुख साझेदारका रूपमा प्रवद्र्धन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, हरित तथा डिजिटल अर्थतन्त्रलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउने तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति अवलम्बन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय सम्मेलनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसको मूल आदर्शका रूपमा पुनः पुष्टि गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, समानता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।






































