काठमाडौं। नेपालको सडक पूर्वाधारमा नयाँ इतिहास लेखिएको छ। करिब सात वर्षको निर्माण, अनेक चुनौती र पटक–पटकको समयसीमा विस्तारपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः औपचारिक रूपमा सञ्चालनमा आएको छ। तर सुरुमै सबै सवारीसाधनलाई भने प्रवेश दिइएको छैन। परीक्षण अवधिमा एम्बुलेन्स, दमकल र अत्यावश्यक सेवाका सवारी मात्रै सुरुङभित्र गुड्नेछन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग–जाइका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्। करिब ८० महिनाको निर्माण यात्रा पार गरेको यो परियोजनालाई नेपालको आधुनिक सडक पूर्वाधार विकासमा एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। तर उद्घाटनसँगै सबै सवारीसाधनलाई सञ्चालन अनुमति भने दिइएको छैन।आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरिनेछ, जसमा सुरुङभित्रको सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन, हावाको गुणस्तर, सञ्चार प्रणाली तथा आपत्कालीन उद्धार व्यवस्थाको परीक्षण गरिनेछ। यो अवधिको मूल्यांकनपछि मात्रै निजी तथा सार्वजनिक सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइनेछ।
परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने कुनै पनि सवारीसाधनबाट शुल्क नलिने निर्णय गरिएको छ।तर नियमित सञ्चालन सुरु भएपछि भने सवारीको प्रकारअनुसार शुल्क लागू हुनेछ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।त्यस्तै ठूला बस तथा हेभी ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि मन्त्रिपरिषद्ले सवारीको प्रकृतिअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।तर सबै सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न पाइने छैन।मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी, पैदलयात्री, साइकल तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीलाई सुरुङमार्ग प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस्तो व्यवस्था गरिएको आयोजना कार्यालयको भनाइ छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका अन्तर्गत सिस्नेखोलामा पुगेर टुंगिन्छ। यो सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गाको साँघुरो, घुमाउरो र जाम हुने सडक प्रयोग गर्नुपर्ने बाध्यता धेरै हदसम्म हट्ने अपेक्षा गरिएको छ। विशेषगरी राजधानी प्रवेश गर्ने मालवाहक तथा लामो दूरीका सवारीसाधनका लागि यात्रा सहज हुने विश्वास गरिएको छ। यात्रा समय करिब एक घण्टासम्म घट्ने अनुमान गरिएको छ भने इन्धन खपत र प्रदूषणसमेत कम हुने अपेक्षा गरिएको छ।
यो आयोजना सुरु भएको पनि लामो समय भइसकेको छ। सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। मुख्य सुरुङको ‘ब्रेकथ्रु’ अर्थात् दुवैतर्फबाट खनिएको सुरुङ जोड्ने काम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो। अहिले प्रधानमन्त्री बालेन शाहको कार्यकालमा यो आयोजना औपचारिक रूपमा उद्घाटन भएर सञ्चालनको चरणमा पुगेको छ। यो परियोजना निर्माणका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजनाअनुसार करिब १७ अर्ब रुपैयाँ निर्माणमा, विनिमय दर र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप दुई अर्ब रुपैयाँ तथा जग्गा अधिग्रहण र मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको हो।
यसका लागि ४८० रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरिएको थियो। सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी, निर्माण सामग्री आपूर्ति समस्या, प्राविधिक जटिलता र अन्य प्रशासनिक कारणले आयोजना निर्धारित समयभन्दा धेरै ढिलो सम्पन्न भयो।लामो प्रतीक्षापछि सञ्चालनमा आएको यो सुरुङमार्गले नेपालको सडक यातायातलाई आधुनिक प्रविधिसँग जोड्ने नयाँ सुरुवात गरेको भन्दै सरकारले यसलाई राष्ट्रिय गौरवको उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। परीक्षण अवधि सफल भए केही महिनाभित्रै सर्वसाधारणका सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ। त्यसपछि काठमाडौं प्रवेश गर्ने यात्रुले वर्षौंदेखिको नागढुङ्गा जाम, घुमाउरो उकालो र लामो प्रतीक्षाबाट धेरै हदसम्म राहत पाउने अपेक्षा गरिएको छ।






































