काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको प्राथमिक दायित्व बनाउन नसक्दा नागरिकमा राज्यप्रतिको असन्तोष बढेको बताएका छन्। एमाले संसदीय मामिला विभागले च्यासलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव शङ्कर पोखरेलले जनविश्वास पुनः स्थापित गर्न सरकारले यी आधारभूत क्षेत्रमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताए । 

पोखरेलले नागरिकले शिक्षा र स्वास्थ्यका लागि आफ्नो सम्पत्ति खर्चिनुपर्ने बाध्यताले राज्यप्रति निराशा बढेको बताए। यही असन्तोष क्रमशः राजनीतिक दलहरूप्रति पनि रूपान्तरित भएको उल्लेख गरे। 

पोखरेलले गुमेको जनमत पुनः प्राप्त गर्न राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीलाई अधिकारका रूपमा सुनिश्चित गर्दै त्यसप्रति स्पष्ट जिम्मेवारी लिनुपर्नेमा जोड दिए। उनका अनुसार आधारभूत सेवामा राज्यको प्रभावकारी उपस्थितिबिनाको विकासले जनताको भरोसा जित्न सक्दैन।

उनले सांसदहरूलाई संसदभित्र पार्टीका नीति, सिद्धान्त र मूल्यका आधारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिँदै लोकप्रियताका लागि क्षणिक नारामा होइन, परिणाममुखी काममा केन्द्रित हुन आग्रह गरे।