काठमाडौं— नेपाली कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीमा आकर्षित गर्न क्रियाशील सदस्यता वितरणको विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको बैठकले युवामुखी अभियान अघि बढाउने निर्णय गरेको हो। समितिले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ४ अनुसार ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिने जनाएको छ।
कांग्रेसको नयाँ विधानले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट तीन जना युवा महाधिवेशन प्रतिनिधि सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यसलाई कार्यान्वयन गर्दै युवाको सहभागिता बढाउने उद्देश्यले अभियान अघि सारिएको पार्टीको भनाइ छ।
पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको एजेन्डालाई जोड दिँदै कांग्रेसले गत पुसमा विशेष महाधिवेशन आयोजना गरेको थियो, जसबाट गगन थापा नेतृत्वको कार्यसमिति चयन भएको थियो।
उक्त कार्यसमितिले आगामी असोजमा हुने १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। महाधिवेशनलाई लक्षित गर्दै पुराना क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया अघि बढाइएको छ भने नयाँ सदस्यता वितरणका लागि आवेदनसमेत खुला गरिएको छ।





























