काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको असन्तुष्टि अन्ततः नयाँ राजनीतिक अभियानको घोषणासम्म पुगेको छ। राप्रपाका वरिष्ठ नेता धवलशमशेर राणाले पार्टीबाट अलग हुँदै नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा असन्तुष्ट नेताहरूको भेलापछि जारी विज्ञप्तिमार्फत राणाले देशमा विश्वसनीय र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्यका साथ नयाँ यात्रा सुरु गर्न लागिएको बताएका हुन्।

राणाले विगत चार वर्ष राप्रपालाई जनभावनाअनुसार अघि बढाउने प्रयास भए पनि पार्टीभित्रको वैचारिक अन्योल, विरोधाभास र गलत राजनीतिक दिशाका कारण त्यो प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन्। उनले राप्रपामा रहेका नेताकार्यकर्ताप्रति कुनै वैरभाव नरहेको स्पष्ट पार्दै आफ्नो विचार र लक्ष्यसँग सहमत राष्ट्रवादी शक्ति तथा युवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

धवलशमशेरको यो घोषणासँगै राप्रपाभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ भने नयाँ राजनीतिक ध्रुवीकरणको बहस पनि सुरु भएको छ।