बाजुरा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
जिल्लाका नौवटै स्थानीय तहमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले सही तरिकाले मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
यतिबेला जिल्लाका हरेक गाउँबस्तीमा चुनावी माहोल तातेको छ। निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई जानकारी गराइरहेको छ ।
मतदाता शिक्षकहरूले स्थानीयको घरदैलोमै पुगेर मतदान गर्ने प्रक्रिया, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिइरहेका छन् ।
मतदाता शिक्षकहरूले मतदानसम्बन्धी सम्पूर्ण जानकारी दिएपछि आफू ढुक्क भएर मतदान गर्न सक्ने भएको बडीमालिका नगरपालिका–७ का स्थानीय मनसुर पाध्यायले बताए। उनका अनुसार पहिले यस्तो कार्यक्रम नहुँदा कहिलेकाहीँ समस्या हुने गथ्र्यो, अहिले घरमै सिक्न पाउँदा सहज भएको छ ।
जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सहज र प्रभावकारी रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए। उनका अनुसार यस कार्यक्रमले बदर मत घटाउने र निर्वाचन प्रक्रिया अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
आगामी निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेको छ। बाजुरामा एक स्वतन्त्रसहित सात दलका उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका ७७ मतदानस्थलमा ११८ मतदान केन्द्र रहनेछन् ।
तीमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र अन्य सामान्य श्रेणीमा राखिएका छन्। जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन्। तीमध्ये महिला ४२ हजार ४३१, पुरुष ४२ हजार ४२८ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।






































