काठमाडौं, फागुन ५ । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गरिएको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार भएको उल्लेख गरिएको छ ।

मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने गरी गरीएको प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग आजपाले माग गरेको छ ।

प्रहरीले प्रसाईंलाई सोमबार साँझ पक्राउ गरेर काठमाडौं प्रहरी परिसरमा ल्याएर राखेको छ । उनी २१ फागुनको चुनाव विथोल्ने अभिव्यक्ति दिएको कारण पक्राउ परेको बताईन्छ । यसअघि पनि उनी पक्राउ परेर रिहा भएका थिए ।