काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्लेख गर्दै संगठनात्मक क्षमताको पुनःस्थापना आवश्यक रहेको धारणा राखे ।
उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलन र त्यसै सन्दर्भमा भएका घटना परिघटनाहरुको प्रमुख प्रभाव भौतिक र मानसिक रुपमा समेत नेपाल प्रहरीमा अत्यन्त पर्न गएको छ । सांगठनिक क्षमताहरुको पुनःस्थापना, सुरक्षा र अपराधका नविनतम चुनौतिहरु सम्बोधन गर्न सक्ने सक्षम र सुदृढ संगठन निर्माणका लागि नेपाल प्रहरी रणनीतिक सम्मेलन अत्यन्त उपयोगी हुने छ भन्ने विश्वास लिएको छु । यस सम्मेलनका निष्कर्षहरु नेपाल प्रहरीका रणनीति र योजनाहरुको कार्यान्वयनमा नीतिगत रुपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।’
सुरक्षा तथा अपराधका नवीनतम चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि उक्त सम्मेलन अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनबाट प्राप्त निष्कर्षहरूलाई नेपाल प्रहरीका रणनीति तथा योजनाको कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्चस्तरीय समर्थन रहने प्रतिबद्धता पनि जनाए ।
यसैगरी, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको मूलमन्त्र ‘सत्य, सेवा, सुरक्षा’ रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले यस मन्त्रलाई आत्मसात् गर्नुपर्ने बताए । उनले नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनअनुसार नेपाल प्रहरीलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने जिम्मेवारी रहेको स्पष्ट पारे । प्रहरी महानिरीक्षक कार्कीले जिम्मेवारीको दायरा जति व्यापक हुँदै गएको छ, त्यति नै प्रहरीप्रतिको जनअपेक्षा पनि बढ्दै गएको उल्लेख गरे ।
उनले भने, ‘नेपाल प्रहरीको मूलमन्त्र सत्य सेवा, सुरक्षणम नै मूल मन्त्र हो । प्रहरी कर्मचारीहरुले सत्य सेवाको मूल मन्त्रलाई आत्मसात गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनले नेपाल प्रहरीलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यानवयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यवसायीक प्रहरी सेवा प्रदान गर्ने जिम्मेवारी प्राप्त छ । यो जिम्मेवारीको दायरा जति व्यापक छ हामीप्रतिको जनअपेक्षा त्यति नै वृहत छ । संघीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका यसको दायित्व, कार्यक्षेत्र अझ व्यापक बहुआयामिक बन्दै गइरहेको छ ।’ संघीय शासन प्रणाली कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र थप व्यापक र बहुआयामिक बन्दै गएको उनको भनाइ छ ।




































