काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही जिल्लामा तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष असर सिन्धुलीमा देखिन थालेको छ । सिन्धुलीमा पार्टीका हेभिवेट नेता हरिबोल गजुरेलको विद्रोहपछि नेकपाका उम्मेदवारका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुने विश्लेषण भइरहेको छ । पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा सिन्धुलीमा देखिएको विद्रोह र मतदातालाई सन्देश दिन पुगेका माधव नेपाल–प्रचण्डको पहल सफल हुन्छ वा हुँदैन भन्ने विषय अहिले चासोको केन्द्रमा छ ।
सिन्धुलीमा देखिएको नेकपाको विवाद राष्ट्रिय तहसम्मै ठूलो विषय बनेको छ । पटक–पटक मन्त्री भइसकेका नेता हरिबोल गजुरेलले नेकपाबाट बागी उम्मेदवारी दिएका महेश्वर दाहाललाई समर्थन गरेपछि राजनीतिक समीकरण बदलिएको छ । जिल्ला पार्टीको म्याण्डेट विपरीत पार्टी मुख्यालयले जबरजस्ती निर्णय थोपरेको आरोपसहित भएको विद्रोहले सिन्धुलीमा नेकपाको जित सहज नहुने अवस्था सिर्जना भएको विश्लेषकहरूको भनाइ छ ।
चुनाव पेचिलो बन्दै गएको देखिएपछि नेकपा संयोजक प्रचण्ड सह–संयोजक माधव नेपाललाई साथमा लिएर सिन्धुली पुगेका हुन् । प्रचण्डले हरिबोल गजुरेललाई टिकट दिन प्रस्ताव गरिएको तर उनले अस्वीकार गरेपछि पार्टीले सिफारिस गरेका लेखनाथ दाहाल ‘राजन’लाई उम्मेदवार बनाइएको दाबी गरेका छन् ।
यद्यपि प्रचण्डले पार्टी विवाद समाधान सम्भव नभएको बताएका छन् भने नेकपाको कारबाहीमा परेका सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश्वर दाहालले आफू सर्वसत्तावादको विरोधमा उभिएको दाबी गरेका छन् । यसले देशभर राजनीतिक सन्देश जाने उनको भनाइ छ । साथै, उनले प्रचण्डले ‘सफेद झुट’ बोलेको आरोप समेत लगाएका छन् ।
उता, नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ भने पार्टीप्रतिको विश्वास फागुन २१ गते मतमार्फत प्रस्ट हुने दाबी गर्छन् । उनले उक्त दिन जनताले आफ्नो धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
सिन्धुलीलाई तत्कालीन माओवादीले गठबन्धनमार्फत दुई निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रमा जित हासिल गर्दै आएको जिल्ला मानिन्छ । यसअघि विभिन्न नेताहरूले यहाँबाट जित निकाल्दै आएका कारण प्रचण्ड स्वयं सिन्धुलीबाट चुनाव लड्ने चर्चा समेत चलेको थियो । तर, पार्टीको आन्तरिक विवाद र जनाधारको विश्लेषणपछि प्रचण्ड रुकुम पूर्व पुगेका थिए । यद्यपि, सिन्धुलीमा भएको विद्रोहको प्रभाव अन्य जिल्लामा समेत पर्ने हरिबोल गजुरेलको दाबी छ ।
सिन्धुलीको रोचक इतिहास
सिन्धुलीमा २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार लीलामणि पोखरेललाई सहिद शेरमान कुँवरकी पत्नी निरु कुमारी कुँवरले पराजित गरेकी थिइन् । पोखरेललाई टिकट दिएपछि निरुले बागी उम्मेदवारी दिएकी थिइन्, जसको परिणामस्वरूप बागी उम्मेदवारकै जित भएको थियो ।
यही उदाहरणलाई अहिले महेश्वर दाहाल पक्षले बलियो आधारका रूपमा प्रस्तुत गरिरहेको छ । तत्कालीन माओवादीको कारबाहीमा परेकी निरु पछि कारबाही फुकुवा भएपछि पुनः सक्रिय राजनीतिमा फर्किएकी थिइन् । अहिले पनि सिन्धुलीमा त्यस्तै परिणाम दोहोरिन सक्ने विद्रोही समूहको दाबी छ ।
जनमत र तालमेलको अभ्यास
सिन्धुलीमा नेकपाको जनमत केही बलियो देखिए पनि २०७४ सालको निर्वाचनमा तत्कालीन एमालेसँगको सहकार्यमा एक क्षेत्रबाट हरिबोल गजुरेल निर्वाचित भएका थिए भने अर्को क्षेत्रमा एमालेका गणेश कुमार पहाडी विजयी भएका थिए । २०७९ को निर्वाचनमा भने तत्कालीन माओवादी–कांग्रेस गठबन्धनबाट लेखनाथ दाहाल ‘राजन’ र कांग्रेसका श्यामकुमार घिमिरेले जित निकालेका थिए ।
यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा एमाले देखिए पनि नेकपाभित्रको विद्रोहले पार्ने प्रभावका कारण परिणाम अपेक्षाअनुसार नआउने चिन्ता बढ्दै गएको छ ।






































