एजेन्शी  ।    भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १० बजे एक दर्दनाक दुर्घटना भएको छ।

तीव्र गतिमा गइरहेको बोलेरो जीप सडकबाट सायू नहरमा खस्दा ११ जनाको ज्यान गएको। तीमध्ये ९ जना एउटै परिवारका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छ्न । घटनामा परेकी १० वर्षीया एक बालिका हराइरहेकी छिन्। बोलेरोमा १६ जना सवार थिए, जसमा ४ जनालाई स्थानीय बासिन्दाले झ्यालको सिसा फोरेर बचाएका छन्। बाँकीको नहरमा डुबेर मृत्यु भइसकेको छ। सबैजना धार्मिक कार्यका लागि पृथ्वीनाथ मन्दिर जल चढाउन जाँदै थिए।

दुर्घटना गोन्डाको इटियाथोक थाना क्षेत्रअन्तर्गत भएको हो। ठूलो वर्षाका कारण नहरमा पानीको बहाव बढी थियो। गाडी नहरमा खसेलगत्तै डुब्न पुगेको हो। गाडीको झ्याल लक भएर भित्रका मानिस निस्कन सकेनन्। उनीहरू गाडीभित्रै छटपटाएर ज्यान गुमाउन बाध्य भएका छन् । घटनास्थलमा रहेका स्थानीय गाडी नहरमा खसेको देखेपछि तत्कालै पानीमा हाम फालेका थिए। तर गाडीका ढोका नखुलेपछि उनीहरूलाई जोगाउन सफल हुन सकेनन्।

गाडीलाई डोरीको सहायताले किनारामा तानेर केही भाग बाहिर निकालिएको छ । जहाँबाट सिसा फोडेर ४ जनालाई सकुशल बचाइएको छ। मृतकमध्ये ९ जना एउटै परिवारका छन्। उनीहरू प्रह्लाद नामका व्यक्तिका परिवार हुन्। मृतकहरूमा प्रह्लादकी श्रीमती बीना (४४), छोरीहरू काजल (२२) र महक उर्फ रिङ्की (१४), भाइ रामकरण (३६) र उनकी श्रीमती अनसुइया (३४), छोराछोरीहरू शुभ (७) र सौम्या (९), कान्छा भाइ रामरुपकी श्रीमती दुर्गेश नन्दिनी (३५) र छोरा अमित (१४) छन्। रामरुपकी अर्की छोरी रचना (१०) हराइरहेकी छिन्। छिमेकी रामललन वर्माकी श्रीमती सञ्जु (२६) र बहिनी गुढिया उर्फ अञ्जु (२०) को पनि मृत्यु भएको छ।

बाँच्न सफल पिंकीले गाडी खस्नेबित्तिकै सबै जना चिच्याउन थालेका थिए। पानी छिट्टै भरिँदै गएपछि कसैलाई बाहिर निस्कन समय नै मिलेन। झ्यालको सिसा फोडेर आफू र केहीजना मात्रै बाहिर निस्कन सफल भएको उनले बताइन्।