काठमाडौं – अन्तर्राष्ट्रिय समाचार संस्था एजन्स फ्रान्स प्रेस (एएफपी) ले गाजामा कार्यरत आफ्ना स्वतन्त्र पत्रकारहरू र उनीहरूको परिवारको तत्काल उद्धारको माग गरेको छ।
गाजा युद्धको चपेटामा परेका ती पत्रकारहरू भोकमरी, थकान र मानसिक तनावका कारण काम गर्न असमर्थ बन्दै गएको एएफपीले जनाएको छ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको इजरायल-गाजा युद्धमा अहिलेसम्म ५९ हजारभन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युद्ध सुरु भएदेखि इजरायलले गाजामा विदेशी पत्रकारहरूको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ। यस्तो अवस्थामा एएफपी, रोयटर्स, एपीजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्थानीय स्वतन्त्र पत्रकारहरूमार्फत रिपोर्टिङ गरिरहेका छन्।
गाजामा रहेका एएफपीका पत्रकारहरू दैनिक भोक, प्यास र सुरक्षाको त्राससँग जुधिरहेका छन्। एएफपी पत्रकार महासंघले चेतावनी दिंदै भनेको छ, “यदि तत्काल हस्तक्षेप भएन भने गाजाका पत्रकारहरू पनि भोकै मर्ने छन्।”
केही पत्रकारहरूले अब काम गर्न सक्ने शारीरिक र मानसिक ऊर्जा नभएको जनाएका छन् भने कतिले समाचार संकलन नै रोक्नुपरेको बताएका छन्।
एएफपीका गाजाबासिन्दा फोटोपत्रकार बशार टालेब र ओमर अल-कत्ताआ दुबै यस वर्ष पुलित्जर पुरस्कारका लागि मनोनयनमा परेका थिए। बशारले गाजाको जबालिया क्षेत्रमा आमासँग बमवर्षाबाट ध्वस्त घरमा बसिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “म पूर्णरूपमा थकित छु। खाना खोज्न दिन बित्छ, समाचार संकलन गर्ने शक्ति छैन।”
ओमर अल-कत्ताआले पनि स्वास्थ्य समस्या, लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यता र औषधिको अभाव रहेको बताएका छन्। “अब हामीसँग न ऊर्जा छ, न खाना, न त औषधि,” उनले भने।
गाजामा रहेका अर्का पत्रकार खद्र अल-जानुनले युद्ध सुरु भएयता आफ्नो तौल ३० किलोभन्दा बढी घटेको र बारम्बार बेहोस हुने अवस्था आएको बताए। “म रिपोर्टिङ गर्न सक्दिनँ,” उनले भने।
एएफपीका अनुसार जनवरीदेखि अप्रिल २०२४ सम्म ८ जना कर्मचारी र तिनका परिवारहरूलाई गाजाबाट सुरक्षित निकालिएको थियो। तर, अझै पनि १० जना स्वतन्त्र पत्रकारहरूको उद्धार प्रक्रिया रोकिएको छ। तीमध्ये एक लेखक, तीन फोटोग्राफर र छ जना भिडिओग्राफर छन्।
रोयटर्सले पनि गाजामा कार्यरत आफ्ना पत्रकारहरूको अवस्था गम्भीर भएको भन्दै चिन्ता व्यक्त गरेको छ। अत्यधिक महँगीका कारण उनीहरूले राहत सामग्री समेत किन्न सक्दैनन्।
एएफपी र रोयटर्सको आग्रहपछि इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यसैबीच, संयुक्त राष्ट्रसंघले गाजामा खाद्यान्नलाई ‘युद्धको हतियार’को रूपमा प्रयोग गरिएको भन्दै इजरायलको आलोचना गरेको छ। इजरायलले भने हमासले राहत सामग्री चोरेर कालोबजारी गरिरहेको आरोप लगाउँदै आएको छ।