काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।
त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए । ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुनुपर्छ,’ बैठकमा रावलले भनेका छन् ।
उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।
‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौँ,’ रावलको आग्रह थियो, ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन ।’
जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ । ‘पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनुपर्छ,’ उनले भने, ‘२२ गते भन्दा अघिको र पछिको शक्तिसन्तुलन र सम्बन्धमा व्यापक फेरबदल भएको छ ।’