काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले "हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको" प्रतीकात्मक उदाहरण दिँदै नेताहरूलाई जिम्मेवारी त बाँडे तर परिणाम आउन नसकेको बताए।
भण्डारीले देउवाले प्रधानमन्त्री भएपछिका काम, निर्णय र रणनीतिबारे पर्याप्त तयारीको खाँचो औंल्याए। साथै, पार्टीको प्रशिक्षण प्रणाली सुधार आवश्यक रहेको भन्दै विषयवस्तु र प्रशिक्षक दुवै परिवर्तन गर्नुपर्ने सुझाव दिए।
पार्टीको भातृ संगठनमा निर्वाचन नगराएर मनोनयनमार्फत पद बाँडफाँट गर्दा संगठन प्रभावहीन बनेको भन्दै भण्डारीले आलोचना गरे। "मिति आफूले बनाउने, नेतृत्व अर्कालाई दिने गर्दा न त संगठन बलियो भयो, न त काम भयो," उनले भने।
भण्डारीले नेताहरूबीचको द्वन्द्वलाई हाँसेर रमिता हेर्नुभन्दा समाधानतर्फ लाग्न नेतृत्वको ध्यानाकर्षण गराए।
सीमान्तकृत वर्गलाई सेयर दिने जलस्रोत नीतिको प्रशंसा गर्दै उनले कांग्रेसले उक्त नीतिलाई संस्थागत रूपमा आत्मसात् गर्नुपर्ने बताए। "यो नीतिबाट देशको गरिबी निवारणमा ठुलो योगदान पुग्नेछ," उनले जोड दिए।
आगामी महाधिवेशनबारे बोल्दै भण्डारीले निर्वाचनमा नकारात्मक असर नपर्ने गरी समयमै र पारदर्शी ढंगले महाधिवेशन गर्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमा उठेका जनचासोका विषयहरू गम्भीर रूपमा लिन र पार्टी सरकारका कामहरूको निर्मम समीक्षा गर्न आग्रह गरे।
राष्ट्रपति वा उपराष्ट्रपतिसम्म भइसकेका व्यक्तिहरू पार्टीको रसिद काटेर फर्किँदा जनतामा राजनीतिप्रति वितृष्णा बढ्ने खतरा रहेको भन्दै भण्डारीले चिन्ता व्यक्त गरे।
निजामती सेवा विधेयक पारित हुँदा देखिएको त्रुटिलाई एक व्यक्तिको नभई सामूहिक कमजोरी भन्दै उनले सम्पूर्ण सांसदहरूले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
भण्डारीले विद्यालय शिक्षा विधेयक, युवाशक्तिको विदेश पलायन, कृषकलाई मल–बिउ तथा अनुदानको उपलब्धता, रूपन्देही र मनाङमा हुन लागेका उपनिर्वाचनजस्ता विषयमा पनि स्पष्ट धारणा राखे।
उक्त बैठक केही साताअघि सुरु भएको हो, र आज पदाधिकारीहरूको जवाफसहित निर्णय सार्वजनिक गर्दै समापन हुने तयारी गरिएको छ।